भक्तपुर बचत संघका उपसमितिमा मनोनित सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

भक्तपुर बचत संघका उपसमितिमा मनोनित सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न



भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिबीच परिचयात्मक कार्यक्रम आज भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा सम्पन्न भएको छ।

कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी अभियानसम्बन्धी समसामयिक मुद्दामा संघको धारणा प्रस्तुत गरे। उनले सहकारी संस्थालाई प्रतिकूल असर पार्ने ऐन, कानुन तथा निर्देशन संशोधनका लागि संघले निरन्तर कानुनी बहस र पैरवी गर्दै आएको बताए। हाल जारी सहकारीसम्बन्धी ऐन, कानुन र निर्देशन सबै सहकारी संस्थाका लागि न्यायोचित हुनुपर्नेमा जोड दिँदै उनले ती व्यवस्थाहरू ‘जंगली न्याय’को अवधारणाबाट प्रभावित भएको टिप्पणी गरे ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका उपाध्यक्ष जगनाथ प्रजापतिले सहकारी क्षेत्रमा अत्यधिक नियमन र निर्देशनका कारण अन्यौलको अवस्था सिर्जना भएको बताए। उनले सहकारीमा ठगी गर्ने व्यक्तिहरूलाई तत्काल कारबाही गरी पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए ।

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर न्यौपानेले गठित उपसमितिमा मनोनित सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। पदसँगै जिम्मेवारी पनि थपिँदै जाने भएकाले जिम्मेवारी वहनमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो। संघका सम्पूर्ण गतिविधि सदस्य संस्था केन्द्रित रहेकाले सदस्य संस्थाको समग्र वृद्धि र विकासमा संघले योगदान पुर्‍याउने उनले उल्लेख गरे

कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजुले संघको परिकल्पना, ध्येय, उद्देश्य तथा वर्तमान चुनौतीहरूबारे प्रस्तुतीकरण गरे। उनले चालु आर्थिक वर्षमा सदस्य संस्थाको संस्थागत, नीतिगत र जनशक्ति विकासका लागि साधारण सभाबाट स्वीकृत बजेट तथा कार्यक्रमबारे जानकारी गराउँदै उपसमितिहरूको जिम्मामा रहेका तालिम तथा कार्यक्रम समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। साथै संघले सञ्चालन गर्दै आएका तालिम, शिक्षा, कानुनी बहस पैरवी तथा अन्तरलगानीसम्बन्धी गतिविधिबारे पनि जानकारी गराए।

कार्यक्रममा संघका १२ वटा उपसमितिमा मनोनित सदस्यहरूलाई मनोनयन पत्र वितरण गर्नुका साथै सपथ ग्रहणसमेत गराइएको थियो। कार्यक्रममा समिति, उपसमिति तथा कर्मचारी गरी ५३ जनाको सहभागिता रहेको संघले जनाएको छ।

प्रकाशित : 31 December, 2025 6:12 pm