काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् ।
शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल बढाउन सरकारसँग आग्रह गरिएको बताए ।
उनले निजी क्षेत्रको मनोबल वृद्धि, संरक्षण तथा प्रवद्र्धन महासंघको प्रमुख माग रहेको स्पष्ट पारे । अध्यक्ष ढकालले आसन्न निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै निर्वाचनमा सहभागिताका लागि राजनीतिक दलहरूले देखाएको तत्परताले देश निर्वाचनतर्फ अघि बढेको देखिएको बताए ।
‘यो चुनावी वातावरण लोकतन्त्रप्रतिको वर्तमान सरकारको समर्पणको उदाहरण हो,’ उनले भने, ‘शान्ति र स्थायित्वका लागि हामी विवेकी, लचिलो र प्रतिबद्ध छौं भन्ने कुरा यसले पनि पुष्टि गर्छ । समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको भान परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै हुन सकेको छैन ।’
तर समृद्धिका लागि अत्यावश्यक निजी क्षेत्रको संरक्षणको विषय भने अझै ओझेलमा परेको उनले गुनासो गरे । निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरणको सुनिश्चितता अझै हुन नसकेको उनको भनाइ थियो ।






Comment