काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ का संयोजक डा. रेवतबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको नियमन अत्यधिक भएको बताएका छन्। उनले बैंकिङ क्षेत्रलाई अझ प्रभावकारी बनाउन केन्द्रीय बैंकले उदार र विवेकशील नियमन नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै तुलनात्मक रूपमा राम्रो रहे पनि नीतिगत नियन्त्रण बढी केन्द्रित भएको धारणा राखे। हरेक क्षेत्रमा कडाइ गर्नु उपयुक्त नहुने भन्दै उनले बैंकहरूलाई स्वनियमनमा जान दिनु आवश्यक रहेको बताए।
डा. कार्कीले अनावश्यक नियमहरू हटाएर बैंकलाई स्वतन्त्र रूपमा काम गर्न दिइएमा अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने उल्लेख गरे। हाल नेपालको कुल ग्राहस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको योगदान करिब पाँच प्रतिशत रहेको बताउँदै स्वतन्त्रता पाएमा यो योगदान अझ बढ्न सक्ने धारणा राखे।
नेपाल–भारतबीच खुला सीमा रहेकाले उच्च ब्याजदरको आकर्षणमा नेपालीहरूले भारतीय बैंकमा रकम जम्मा गर्न थालेको र यसले पुँजी पलायनको जोखिम बढाएको पनि उनले बताए।
एउटा बैंकको कमजोरीको असर अन्य बैंकहरूले पनि भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले यस्ता विषयमा केन्द्रीय बैंक अझ सचेत हुनुपर्ने बताए। आफूले तयार पारेको प्रतिवेदनमा केन्द्रीय बैंकको संरचनागत सुधार, लचकदार नियमन नीतिलगायतका विषयमा सुझाव समेटिएको र बैंकिङ क्षेत्र सुधारका लागि तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन उपायहरू प्रस्ताव गरिएको जानकारी दिए।






Comment