काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक सहकार्यका लागि सहमति भएको छ। रास्वपाका सभापति रवि लामिछाने र मेयर शाहले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारिने उल्लेख गरिएको छ।
बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुन सहमत भएपछि पार्टीको नाम, झण्डा तथा चुनाव चिन्ह यथावत् राखिने जनाइएको छ।
सम्झौतामा नवयुवा पुस्ता (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनप्रति अपनत्व लिने उल्लेख छ। साथै, आन्दोलनका क्रममा घाइते भएका व्यक्ति र शहीद परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, समुन्नत नेपाल र सामाजिक न्याय स्थापना गर्न नीतिगत, संस्थागत तथा संरचनागत सुधारमा जोड दिइने बताइएको छ। आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यसहित स्पष्ट मार्गचित्रमा इमान्दारीपूर्वक समर्पित रहने प्रतिवद्धता पनि सम्झौतामा समावेश छ।
यस्ता छन् ७ बुँदे सम्झौता
१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्धता जनाउने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्ग चित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच वृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा नीलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. वृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।






Comment