द ब्रिटिस कलेजको अवैध शैक्षिक धन्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

द ब्रिटिस कलेजको अवैध शैक्षिक धन्दा



काठमाडौं । काठमाडौंस्थित द ब्रिटिस कलेज (The British College) ले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टसहित विभिन्न शैक्षिक कार्यक्रमहरू अवैध रूपमा सञ्चालन गरेको आरोप लागेको छ। उक्त कलेजले विद्यार्थीहरूबाट अत्यधिक शुल्क असुल गरेको, एउटै कार्यक्रमअन्तर्गत फरक–फरक पाठ्यक्रम लागू गरेको तथा भर्ना गरिएका विद्यार्थीहरूलाई अलपत्र पारेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।

नेविसंघका अनुसार समस्या समाधानका लागि संवादको बाटो रोज्नुपर्नेमा कलेज प्रशासनले उल्टै विद्यार्थीहरूलाई धम्की दिने र मानसिक दबाब सिर्जना गर्ने कार्य गरेको छ, जुन अत्यन्त निन्दनीय रहेको संघको ठहर छ।

विदेशी विश्वविद्यालयसँग सम्बन्ध प्राप्त कलेजहरूले लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन, भर्ना संख्या, शुल्क संरचना तथा छात्रवृत्तिका नाममा लुट र अनियमितता गर्दै आएको गुनासो व्यापक रूपमा उठ्दै आएको नेविसंघको विज्ञप्तिमा उल्लेख छ।

नेविसंघले उक्त विषयमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित कलेजमाथि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न जोडदार माग गरेको छ। साथै, पीडित विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक समस्या अविलम्ब समाधान गर्न कलेज प्रशासनसँग पनि कडा आग्रह गरिएको छ।

नेविसंघका केन्द्रीय कार्यवाहक अध्यक्ष सञ्जिब खड्का ले विद्यार्थीहरूको हक, अधिकार र भविष्यसँग खेलवाड गर्ने कुनै पनि शैक्षिक संस्थाविरुद्ध संगठन सशक्त रूपमा उभिने चेतावनी दिएका छन्।

प्रकाशित : 24 December, 2025 6:12 pm