‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थ राजनीति

‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए।

उनले भने,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन् । उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन रु आज सिंगो देशमा प्रश्न उठाइरहेको छ। आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन । म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्रोस् व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै उनले देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा जेनजीहरु फसेको धारणा राखे । सबै जेनजीहरुले एक पटक छातीमा हात राखेर विध्वंसले आफ्नो भविष्य जल्यो कि जलेन भनेर सोच्न आग्रह गरे ।

‘उनीहरु देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा फसे । उनीहरुले आफ्नै देश चिनेन आफ्नो कर्तव्य देशप्रतिको जिम्मेवारी बुझेनन् । र देशमा विध्वंस मच्चाउने काम गरे ।देशलाई जलाउने काम मात्र गरेनन् जेनजी भाइबहिनीहरुको भविष्य जलाउने काम भयो । सबै जेनजी भाइबहिनीहरुले एक पटक छातीमा हात राखेर सोच्न आग्रह गर्छु । के विध्वंसले तपाईहरुको भविष्य जलेन ? सोच्नुपर्नेछ यो तपाईहरुको भविष्य जलाउने काम गरिएको छ।’

प्रकाशित : 23 December, 2025 12:54 pm