काठमाडौं ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को ३४औं वार्षिक साधारण सभा शुक्रबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको छ। सहकारी क्षेत्रका विद्यमान चुनौती, अवसर र भावी दिशामाथि गहिरो छलफल गर्दै साधारण सभा नियामकीय पालना, सदस्य बचतको सुरक्षा र अभियानको एकतालाई केन्द्रमा राखेर सम्पन्न भएको हो।
नियामकीय पालना र उत्तरदायित्वमा जोड
संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा नियामकीय निर्देशनहरूको पूर्ण पालना गर्दै सहकारी अभियानलाई जिम्मेवार र पारदर्शी बनाउने प्रतिबद्धता दोहोर्याइयो। अध्यक्ष ढकालले आर्थिक वर्ष २०८१/८२ मा साकोस अभियानको नेतृत्व गर्दै संघले सम्पादन गरेका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरे।
साकोस ऐन अपरिहार्य, पैरवी निरन्तर
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले सहकारी ऐन संशोधनले केही हदसम्म व्यवस्थापन सहज भए पनि बचत तथा ऋण सहकारी अभियानको अपेक्षा अझै पूरा हुन नसकेको बताए।
“साकोस ऐन हाम्रो आवश्यकता हो, यसको प्राप्तिका लागि प्रयास निरन्तर रहनेछ,” उनले भने, “अबको गन्तव्य भनेको अभियानको सञ्जालिकरण हो।”
सेवाको स्तरीकरणमार्फत बचत सुरक्षा
अध्यक्ष ढकालले सेवाको स्तरीकरणमार्फत सदस्यहरूको बचत सुरक्षित गर्न साकोस अभियान सक्षम रहने विश्वास व्यक्त गरे। कानुनी वातावरण विकास र अभियानलाई संस्थागत रूपमा बलियो बनाउने कार्य निरन्तर अघि बढाइने उनले स्पष्ट पारे।
भाखा नाघेका ऋण र जोखिम व्यवस्थापनको चुनौती
सदस्यहरूमा गएको भाखा नाघेको ऋणका कारण लेख्नुपरेको खर्च र सम्पत्ति स्वीकार गर्दा सिर्जना भएको जोखिम व्यवस्थापन अभियानको क्षमताभन्दा बाहिर रहेको अध्यक्ष ढकालको भनाइ थियो। यसका लागि सहकारीहरूलाई समय र सहजीकरण आवश्यक रहेको उनले औंल्याए।
“कडा नियमनको नाममा अभियानलाई डर देखाइएको छ, तर सरकारको संरक्षणात्मक पहल पर्याप्त छैन,” उनले भने।
एकता नै समाधानको आधार
अध्यक्ष ढकालले अभियान एकजुट भए सबै समस्या समाधान सम्भव हुने धारणा राखे।“कुनै पनि संस्था एक्लै छैन, हुनु हुँदैन,” उनले भने, “संविधानले दिएको एक तिहाइ जिम्मेवारी निष्ठापूर्वक बहन गर्न सहकारी अभियान सक्रिय हुनुपर्छ।”
औपचारिक वित्तीय क्षेत्रका रूपमा साकोस
विश्वव्यापी रूपमा बचत तथा ऋण सहकारी क्षेत्र औपचारिक वित्तीय प्रणालीको अभिन्न अंग भएको उल्लेख गर्दै अध्यक्ष ढकालले अबको एकमात्र बाटो वित्तीय सहकारी ऐनका लागि सशक्त पैरवी भएको बताए। उत्कृष्ठ सहकारीतासहितको वित्तीय सेवा प्रवाहमा अभियान प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रगति प्रतिवेदन र आगामी नीति प्रस्तुत
सभामा महासचिव घनश्याम अधिकारीले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरे। बहस तथा पैरवी, वित्तीय स्वस्थता, जोखिम व्यवस्थापन, मानव स्रोत विकास र साकोस अभियानको सुदृढीकरणमा उल्लेखनीय प्रगति भएको उनले बताए।
नविकरण नगर्ने सदस्यको खारेजी प्रक्रिया
संघको विनियमअनुसार आबद्धता नविकरण नगर्ने सदस्य संस्थाको सदस्यता खारेजी प्रक्रिया अघि बढाइएको महासचिव अधिकारीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा ३७५ र चालु आर्थिक वर्षमा ७ वटा संस्थाको सदस्यता खारेज गरिएको छ।
छैठौं रणनीतिक योजनाको स्पष्ट दृष्टि
आगामी योजनाबारे जानकारी दिँदै महासचिव अधिकारीले संघको छैठौं रणनीतिक योजनाको ध्येय ‘अविचलित साकोस सञ्जालमार्फत जनजीविका सुधार’ र परिकल्पना ‘स्वस्थ र सुरक्षित साकोसहरूको जवाफदेही एकीकृत सञ्जाल’ रहेको बताए।
ऋण असूली र खर्च नियन्त्रणमा प्राथमिकता
कोषाध्यक्ष दीपक थापाले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै प्रारम्भिक संस्थाको सुरक्षा बिना सहकारी अभियान सुरक्षित नहुने स्पष्ट पारे। भाखा नाघेका ऋण असूलीलाई प्राथमिकतामा राख्दा सकारात्मक नतिजा देखिएको उनले बताए।
“नियमित प्रयासपछि पनि ऋण तिर्न आनाकानी गर्ने संस्थाको हकमा धितो लिलामीमार्फत असूली गरिएको छ,” उनले भने।
लेखा प्रतिवेदन र एजेन्डा पारित
सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य दुर्गा तिवारी संजेलले प्रस्तुत गरिन्। साधारण सभाले संघको विनियम संशोधन, आन्तरिक कार्यविधि, संकल्प प्रस्तावसहित पूर्वनिर्धारित ११ वटा एजेन्डामाथि छलफल गरी पारित गरेको छ।
साकोस अभियानलाई नयाँ दिशाको संकेत
एकता, विश्वास र उत्तरदायित्वको सन्देशसहित सम्पन्न नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभाले सहकारी क्षेत्रलाई थप सुदृढ, सुरक्षित र विश्वसनीय बनाउने दिशामा स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।





Comment