नेफ्स्कूनद्वारा ‘साकोस शिखर गोष्ठी–२०८२’ को सम्पूर्ण तयारी पूरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेफ्स्कूनद्वारा ‘साकोस शिखर गोष्ठी–२०८२’ को सम्पूर्ण तयारी पूरा



नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा आयोजना गर्न लागेको दुईदिने ‘साकोस शिखर गोष्ठी–२०८२’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयमा आयोजना हुने गोष्ठी आगामी पौष ३ र ४ गते ललितपुरको सानेपा हाईटस्थित हेरिटेज गार्डेनमा हुनेछ। गोष्ठीको औपचारिक उद्घाटन पौष ३ गते बिहान ठीक ८ बजे हुने नेफ्स्कूनले जानकारी दिएको छ।

गोष्ठीका लागि कार्यपत्र प्रस्तुतीकरण गर्ने विषयविज्ञहरूको छनोट, सहभागी व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी जिम्मेवारी बाँडफाँड पूरा भइसकेको संघले जनाएको छ।

३८ वर्षदेखि बचत तथा ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्न सक्रिय नेफ्स्कून हाल ७७ जिल्लाका ४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था, ५५ जिल्ला संघ, ४ प्रादेशिक संघ तथा करिब ५९ लाख व्यक्तिगत सदस्यहरूको केन्द्रीय प्रतिनिधि संस्था हो। संघ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग आबद्ध रहँदै साकोस संस्थागत विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

तयारी पूरा भएकोबारे जानकारी दिँदै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी क्षेत्रको आर्थिक सबलीकरण, उत्तरदायित्व र संस्थागत सुदृढीकरणका लागि शिखर गोष्ठी महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार गोष्ठीले साकोस अभियानलाई दिगो र नियमन–अनुकूल बनाउन सहयोग पुर्‍याउनेछ।

कार्यक्रममा सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, नियमनकारी निकायका प्रतिनिधि, सहकारी तथा आर्थिक पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। गोष्ठीमा देशभरबाट करिब ७ सय प्रतिनिधिहरूको सहभागिता रहने नेफ्स्कूनले जनाएको छ।

प्रकाशित : 17 December, 2025 7:49 pm