काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना तथा नेपाल पाउरोटी उद्योग संघ, काठमाडौँको सहकार्यमा खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पुस २ गते काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलो भोजनालयमा आयोजित उक्त कार्यक्रममा बेकरी उद्योगी व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनकी वरिष्ठ सदस्य, स्त्री क्यान्सर रोग विशेषज्ञ तथा लेजर थेरापी क्लिनिक, लगनखेलकी नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ एवं नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर, जावलाखेलकी बोर्ड डाइरेक्टर डा. सुशिला वैद्यले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
यसैगरी विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारी प्रस्तुत गरे भने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तर निर्धारण प्रक्रिया तथा खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य मापदण्ड सम्बन्धी कार्यपत्र प्रस्तुत गरे।
सरोकारवालासहित विभागका कर्मचारी गरी करिब ९० जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रम विभागका महानिर्देशकको अध्यक्षतामा तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विभागका उपमहानिर्देशक एवं नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमल अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद डाहाल, नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धु्रब गौतम तथा महासंघका केन्द्रीय सदस्यहरू अरनिको राजभण्डारी, राजकुमार कार्की लगायत आयातकर्ताका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि अन्जन श्रेष्ठले बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरणका लागि आयात बिन्दुमा कडाइका साथ नियमन गर्नुपर्नेमा जोड दिए । साथै, नेपालको सन्दर्भ मात्र नभई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत आत्मसात गर्दै यससम्बन्धी नीति, नियमन र कार्यान्वयन अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। ट्रान्स फ्याटको विषय हाल जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सम्पूर्ण सरोकारवाला निकायले विभागसँग हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा अतिथि कमल अधिकारीले ऐन नियम कार्यान्वयनमा उद्योगी व्यवसायीलाई समेत समेटेर अघि बढ्नुपर्ने, नियम लागू भएपछि त्यसको प्रभावकारिता मापन गर्नुपर्ने र यदि ट्रान्स फ्याटको समस्या प्रशोधन प्रक्रियामा हुने त्रुटिका कारण भएको हो भने सुधारका लागि उद्योगीहरू सधैं सकारात्मक रहेको उल्लेख गरे।
छलफलका क्रममा सहभागीहरूले ट्रान्स फ्याट न्यूनीकरणका लागि उद्योगीको भूमिकालाई स्पष्ट रूपमा निर्देशित गर्नुपर्ने, उपभोक्ता जनचेतना र उद्योगी नियमनलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने तथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू थप आवश्यक रहेको सुझाव दिएका थिए।





Comment