सुर्खेत । ठुलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ । हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठुली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ ।
भेरी कोरिडोर हुँदै जाजरकोटबाट डोल्पा प्रवेश गर्ने पर्यटकका लागि दुनै पहिलो प्रमुख गन्तव्य हो । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक केन्द्रसमेत रहेको दुनैबाट फोक्सुन्डो ताल, शे–गुम्बा, धो तरापलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक यहाँ बास बसेर आफ्नो गन्तव्यतर्फ जाने गरेका छन् ।
केही दिनदेखि लगातार परेको वर्षा र कुहिरोले ढाकिएको दुनैमा मौसम खुलेसँगै वरिपरिका हरिया पहाड र ठुली भेरी नदीको मनमोहक दृश्य देखिन थालेको छ । प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीय जुना ठकुल्लाले बताइन् । ‘ठुली भेरी नदीको किनारमा रहेको दुनै बजार वरिपरिका हरिया डाँडा, सफा आकाश र नदीको कलकल आवाजले यहाँ आउने जोकोहीको मन लोभ्याउँछ,’ उनले भनिन् ।
वर्षाका कारण केही दिन डोल्पाको जनजीवन, सडक यातायात र पर्यटकीय गतिविधिसमेत प्रभावित भएका थिए । खराब मौसमका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रासमेत प्रभावित भएको थियो । पर्यटकलाई मौसम र पदमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् ।
मौसम खुलेसँगै दुनैको प्राकृतिक सौन्दर्य फेरि देखिन थालेको पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीले बताए । उनका अनुसार मौसम अनुकूल हुँदा दुनै वरिपरिका पहाड र हिमाली दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।
ठुली भेरी नदीको किनारमा पहाडले घेरिएको दुनै डोल्पाको प्रशासनिक केन्द्र मात्रै नभई जिल्लामा प्रवेश गर्ने पर्यटकका लागि पहिलो आकर्षणसमेत रहेको शिक्षक जयकृष्ण हमाल बताउँछन् । ठुली भेरी नगरपालिकाको केन्द्रसमेत रहेको दुनैसहित नगरपालिकामा ११ वडा छन् । नगरपालिकाको नामसमेत यही क्षेत्र हुँदै बग्ने ठुली भेरी नदीबाट राखिएको हो ।
खुलेको मौसममा हिमाल र हरियालीको आकर्षण
वर्षापछि खुलेको मौसमले डोल्पाका डाँडापाखा हरियालीसँगै झनै आकर्षक देखिएका छन् । सदरमुकाम दुनैबाट करिब आधा घण्टाको दूरीमा रहेको जुफाल विमानस्थल आसपासबाट मुकुटेश्वरी हिमाललगायतका हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । हिउँले ढाकिएका हिमाल र आसपासका प्राकृतिक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय शिक्षक बालकृष्ण डाँगीले बताए ।
दुनै वरिपरिको भूगोल प्राकृतिक विविधताले भरिएको छ। एकातिर ठुली भेरी नदी र अर्कोतिर अग्ला पहाडका बिचमा रहेको बजारले हिमाली भूगोल र मानव बस्तीबिचको सम्बन्धलाई समेत झल्काउँछ। मौसम खुलेपछि यहाँबाट देखिने प्राकृतिक दृश्यले डोल्पाको पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ ।
सुन्दरतासँगै विपद्को जोखिम
दुनैको प्राकृतिक सुन्दरता वर्षा याममा जोखिमसँग पनि जोडिएको छ। बजारकै छेउबाट ठुली भेरी नदी बग्ने भएकाले वर्षातका बेला नदीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा जोखिममा पर्ने गरेका छन् । भारी वर्षाका बेला नदीको सतह बढेपछि बजार आसपासका बासिन्दालाई सतर्क रहन आग्रहसमेत गरिँदै आएको छ ।
वर्षाका कारण सडक यातायातमा पटक–पटक अवरोध हुँदा स्थानीयको आवागमनसँगै पर्यटकको यात्रा पनि प्रभावित हुने गरेको छ । सडक नियमित नहुँदा स्थानीय उत्पादनको बजारीकरणमा समेत समस्या हुने गरेको शिक्षक डाँगी बताउँछन् । उनका अनुसार सडक तथा अन्य पूर्वाधारको विकाससँगै डोल्पाको प्राकृतिक र पर्यटकीय महत्त्व थप उजागर हुन सक्छ ।
पर्यटनको प्रवेशद्वार दुनै
दुनै डोल्पाका प्रमुख पर्यटकीय गन्तव्य पुग्ने प्रवेशद्वार हो । जिल्लामा रहेको शे–फोक्सुन्डो ताल, शे–गुम्बा, त्रिपुरासुन्दरी मन्दिर, धो तराप र जगदुल्ला ताललगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यले डोल्पालाई पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बनाएका छन् ।
पछिल्ला वर्षमा फोक्सुन्डो क्षेत्रमा पर्यटकको आकर्षण बढे पनि सडक, सञ्चार र अन्य आधारभूत पूर्वाधारको अभाव चुनौतीका रूपमा रहेको छ। दुर्गम भूगोल र मौसममा हुने परिवर्तनले पनि पर्यटकीय गतिविधिमा प्रभाव पार्दै आएको छ ।
मौसम खुलेसँगै दुनैमा देखिएको प्राकृतिक सौन्दर्यले डोल्पाको पर्यटन सम्भावनालाई पुनः उजागर गरेको छ । वर्षायामपछि मौसम अनुकूल हुँदै जाँदा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधार विकास र सुरक्षित यात्राको व्यवस्थापन गर्न सके डोल्पाको पर्यटनले स्थानीय अर्थतन्त्रमा थप योगदान पुर्याउन सक्ने देखिन्छ।

















Comment