नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई ५२ लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंक लिमिटेडद्वारा विद्यालयलाई ५२ लाख सहयोग



काठमाडाै १६ जेठ  ।नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ ।

वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गरे ।

बैंक सञ्चालक सदस्य सिंहले यस बैंकको इतिहासमा यति धेरै रकम सहयोगस्वरुप प्रदान गरेको पहिलोपटक भएको उल्लेख गर्दै सो रकम सदुपयोग गरी यस विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न आग्रह गरे ।

इन्द्रावती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वंशलाल तामाङले १९६० सालमा स्थापित सिन्धुपाल्चोककै सबैभन्दा पुरानो यस ऐतिहासिक विद्यालयलाई गरिएको सहयोग एक सुखद संयोग रहेको चर्चा गर्दै सबै नाफामुलक कम्पनीद्वारा यस्तै उदार मनले सहयोग भए देशको आर्थिक सामाजिक परिवर्तनले गति पाउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापालगायतका पदाधिकारीले प्राप्त रकमको पूर्ण सदुपयोग गरिने प्रतिबद्धता प्रकट गरे ।

यस विद्यालयका सबै भवन २०७२ को विनाशकारी भूकम्पबाट पूर्ण क्षतिग्रस्त भएपछि २५० विद्यार्थी अस्थायी टहरामा अध्ययन गर्दै आएका थिए । बैंकको सहयोगबाट यस स्थानमा करिब तीन हजार वर्गफिटको दुईतले आठकोठे पक्की भवन निर्माण हुनेभएको छ ।

नेपालकै अगुवा बैंकका रुपमा रहेको यस बैंकले देशका ५३ जिल्लामा १३० शाखा कार्यालय आठ एक्स्टेन्सन काउन्टरको कार्य सञ्जालमार्फत जनतालाई इ–बैंकिङ, मोबाइल बैंकिङलगायतका अनलाइन सेवा उपलब्ध गराउनुका साथै हाल रु ८४ अर्ब निक्षेप सङ्कलन गरी रु ७४ अर्ब कर्जा प्रवाह गरेको बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले बताए ।

प्रकाशित : १६ जेष्ठ २०७४, मंगलवार ०५:४२