काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् ।
मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्नेछिन् । कम्पनीका अनुसार उनले ईएसजी (पर्यावरण, सामाजिक र शासन) एकीकृत लगानी ढाँचाको विस्तार र पोर्टफोलियो निगरानीमा महत्वपूर्ण भूमिका निभाउनेछिन् ।
क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव संगालेकी मल्लले यसअघि बिजनेस अक्सिजन, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडी अन्तर्गतका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् ।
उनले हाल घामपावरको स्वतन्त्र सञ्चालक र इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्यको रूपमा पनि काम गरिरहेकी छिन् ।
एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले मल्लको अनुभवले कम्पनीको लगानी रणनीति र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
ऋतु प्रधान मल्लले भनिन्, ‘नेपालको पुँजी बजार तीव्र रूपमा विकास हुँदै गर्दा म एनआईबिएल इक्विटी पार्टनर्समा सामेल हुन पाउँदा सम्मानित अनुभव गरिरहेकी छु । कम्पनीमा योगदान पुर्याउन र नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्यायको विकासमा सहयोग गर्न तत्पर छु ।’





Comment