काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मंसिर २३ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा भक्तपुर बैंक्वेटमा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाईले सहकारी संस्थाको नियमन, वर्गीकरण र पारदर्शिता कायम गर्न प्राधिकरणमा दर्ता अनिवार्य रहेको स्पष्ट पारे। उनले सहकारी क्षेत्रमा विगतमा देखिएका विकृति–विसंगति न्यूनिकरण गर्दै जोखिम घटाउन सबै तहमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थाले प्राधिकरणबाट दर्ता प्रमाणपत्र लिनुपर्नेमा जोड दिए।
डा. चौलागाईले “सहकारी सदस्यको हित सर्वोपरि हो, तर व्यवहारमा सदस्यमै भ्रम देखिँदा समस्या बढेको छ,” भन्दै यस्तो समस्या दोहोरिन नदिन प्राधिकरण गठन गरिएको बताए। उनले संघ तथा सहकारी संस्था अलगै संरचना भएकाले संघको वित्तीय कारोबारलाई पनि व्यवस्थित गर्ने आवश्यकतामा जोड दिए।
संघका अध्यक्ष हरिकृष्ण बल्लले प्राधिकरणमा दर्ता नभए कर्जा सूचना केन्द्रमा आबद्धता नहुने र सहकारीले राज्यबाट प्राप्त हुने सुविधाबाट समेत बञ्चित हुनुपर्ने अवस्थाले सबै प्रारम्भिक सहकारीले समयमै दर्ता प्रक्रिया पूरा गर्न आवश्यक रहेको टिप्पणी गरे। उनका अनुसार संघमा राखिएको बचत तरलता गणनामा नसमेटिने नियमनले प्रारम्भिक सहकारीलाई बैंक तथा वित्तीय संस्थामा शून्य प्रतिशत बचत राख्न बाध्य बनाएको छ ।
संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले प्राधिकरणमा दर्ता अभियान सहकारी क्षेत्रकै मागअनुसार अघि बढेको बताए। उनले संघमा रहेको रकमलाई तरलता गणनामा समावेश गर्ने व्यवस्था मिलाउन तथा संघलाई छुट्टै मापदण्डमा वर्गीकरण गरी सहयोगी निकायका रूपमा जीवन्त राख्न प्राधिकरणले ध्यान दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा कोषाध्यक्ष कृष्णश्वरी मचामसीले बहु नियमनकारी निकाय र बहु दर्ता–नवीकरणको कानूनी व्यवस्थाले प्रारम्भिक सहकारी संस्थामा अन्यौलता बढेको बताउँदै एकद्वार प्रणालीमार्फत नियमन तथा अनुगमन गर्नुपर्ने आवश्यकता उठाए।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्दा आवश्यक पर्ने कागजात र प्रक्रिया प्रस्तुतीमार्फत जानकारी गराउँदै समयमै दर्ता हुन सहकारी संस्थालाई आग्रह गरे।





Comment