काठमाडौँ । डिशहोमले आफ्नो ओटीटी प्लेटफर्म डिशहोम गोमा नेपाल प्रिमियर लिगको उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले प्रत्यक्ष हेरेको जानकारी दिएको छ । जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाबिचको उद्घाटन खेलमा उक्त संख्यामा ‘कन्करेन्ट भ्युवर्सिप’ (एकै समयमा हेर्ने दर्शक) पुगेको कम्पनीले जनाएको छ ।
भारतबाहेक विश्वभर एनपीएलको प्रत्यक्ष प्रसारण गरिरहेको डिशहोमले एकै खेलमा यति धेरै दर्शकलाई जोड्न सक्नुले आफ्नो प्राविधिक क्षमता पुष्टि भएको दाबी गरेको छ । मोबाइल एपमार्फत पूर्णरूपमा प्रत्यक्ष खेल प्रसारण गर्ने आफू पहिलो नेपाली कम्पनी भएको डिशहोम गोको भनाइ छ ।
उद्घाटन खेलमा केही प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न समस्या भोगेका थिए । यो समस्या केबल डिशहोम गोको मात्रै नभएर धेरै पक्ष संलग्न रहेकाले प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको कम्पनीको दाबी छ । विशेषतः एनपीएल सिजन पासको सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताले आईओएस प्रयोगकर्तामा असुविधा सिर्जना गरेको कम्पनीले स्पष्ट पारेको छ । एन्ड्रोइड प्रयोगकर्ताले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेरेको कम्पनीको भनाइ छ ।
डिशहोम गो एपका इन्जिनियर र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्या समाधान गर्न सफल भएको कम्पनीले जनाएको छ । दोस्रो दिनदेखि आईओएस प्रयोगकर्ताले पनि सहज रूपमा एनपीएल सिजन पास खरिद गरेर खेलको प्रत्यक्ष प्रसारण हेरेका थिए ।
कम्पनीले दोस्रो र तेस्रो दिनको खेलमा लगभग सबै प्राविधिक चुनौती समाधान गरेको थियो । डिशहोम गोका आधिकारिक च्यानलमार्फत प्राप्त हजारौं अनुरोधलाई प्रणालीबाट एकैचोटि सक्रिय गरिएको कम्पनीको भनाइ छ । यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेको भए त्यसलाई फिर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको छ ।
थप सहजताका लागि कम्पनीले बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपीएल सिजन पासको भौचर खरिद गर्ने सुविधा ल्याएको छ । खल्ती तथा इसेवाबाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रत्येक व्यक्तिले आवश्यकता अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध छ । जसले घरपरिवार र साथीभाइलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपीएल हेर्न सहयोग पुर्याइरहेको कम्पनीले जनाएको छ ।
चुनौतीपूर्ण काम सफलतापूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्णरूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको दाबी डिशहोम गोको छ ।
यसरी, डिशहोम गो अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढिरहेको र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाएको कम्पनीको भनाइ छ ।
“हामीले सामना गरेका प्राविधिक चुनौतीहरू हाम्रो मात्र नभई, विभिन्न संलग्न पक्षहरूको प्रक्रियासँग सम्बन्धित थिए । यसै कारण पहिलो दिन सबै प्रयोगकर्तालाई सहज अनुभव दिन विभिन्न कठिनाई हुँदा नि:शुल्क हेर्ने व्यवस्था गर्दा करिब २ लाख दर्शकहरुले सजिलै हेर्न पाएका थिए । दोस्रो र तेस्रो दिनदेखि सबैले पूर्ण रूपमा सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने स्थिति आएको छ । हामी यस उपलब्धिलाई नेपाली प्रत्यक्ष प्रसारण क्षेत्रमा ऐतिहासिक उपलब्धि मान्छौं । यस क्रममा दर्शक महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै यहाँहरुको दोहोरिएको भुक्तानी रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,” कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।





Comment