सहकारीमा फसेका साना रकम पहिलो चरणमै फिर्ता हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीमा फसेका साना रकम पहिलो चरणमै फिर्ता हुने



काठमाडौं । सरकारले सहकारी पीडितका १ लाख वा सोभन्दा कम बचत रकम छिट्टै फिर्ता गर्ने तयारी गरेको छ। सहकारीमा फसेका साना रकमका बचतकर्तालाई राहत उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ कार्यविधि तयार पारी अर्थ मन्त्रालयमा पठाएको हो।

मन्त्रालयका सह–प्रवक्ता दामोदर वाग्लेका अनुसार, सस्तो रकम फसेका नागरिकलाई प्राथमिकतामा राखेर रकम फिर्ता प्रक्रिया सुरु गर्ने योजना छ। अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृत भएपछि कानुन मन्त्रालयको राय लिई मन्त्रिपरिषद्मा पेश गरिने र अन्तिम अनुमोदनपछि बचत फिर्ता वितरण सुरु गरिने उनले बताए।

यो प्रक्रियाअन्तर्गत चक्रीय कोष (Revolving Fund) निर्माण गरिने छ, जसका लागि अर्थ मन्त्रालयले निश्चित रकम बिउपूँजीका रूपमा उपलब्ध गराउनेछ। त्यही कोषबाट समस्याग्रस्त ठहरिएका सहकारीका बचतकर्तालाई रकम भुक्तानी गरिने छ। साथै, ती सहकारी संस्थाहरू लिलाम गर्दा प्राप्त हुने रकम पुनः सोही कोषमा जम्मा गरी स्रोत व्यवस्थापन गरिनेछ।

पछिल्ला वर्षहरूमा आफ्नो बचत फसाएका पीडितहरूले विभिन्न समिति गठन गरी राष्ट्रिय स्तरमा आन्दोलन र अभियान सञ्चालन गर्दै आएका छन्। देशभर करिब ३४ हजार सहकारी दर्ता भए पनि तीन तहका सरकारअन्तर्गत छुट्टाछुट्टै दर्ता हुने व्यवस्था र कमजोर नियमनका कारण धेरै सहकारी समस्याग्रस्त बनेका छन्।

सहकारीका मूल्य, आदर्श र सिद्धान्तअनुसार सञ्चालन भएका संस्थाहरूले राम्रो प्रगति गरिरहे पनि सिद्धान्तविपरीत आक्रामक रूपमा बचत संकलन र कर्जा प्रवाह गर्ने सहकारीहरू समस्यामा परेको तथ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित : 23 November, 2025 10:44 am