काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से मंगलबार सामान्य वृद्धि गर्दै बन्द भएको थियो। तर सो वृद्धि क्रमलाई निरन्तरता दिन नसक्दा, बजार पुनः ओरालो लागेको हो।
बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २,५४४.५९ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले, फ्लोट इन्डेक्स १.३३ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०९ अंकले घटेको छ।
नेप्से घटेपनि यस दिन बजार कारोबार रकम भने वृद्धि भएको छ। मंगलबार ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा बुधबार ३२१ कम्पनीका ८४ लाख ४ हजार कित्ता शेयर ६६ हजार ८२४ पटकको कारोबारमार्फत ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
यस दिन चार कम्पनीका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। ती कम्पनीहरूमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजम रहेका छन्। त्यस्तै, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ।
त्यसैगरी, कारोबारमा सक्रिय दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य भने सर्वाधिक ८.७२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४० करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणको घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन्। त्यस्तै, राधी विद्युत कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको र साहस उर्जाको १४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको र १२ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य रूपमा बढेको हो।
तर, व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशतले घटेको छ। अन्य उपसमूहहरूमध्ये केहीको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ भने बाँकीको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।





Comment