बनेपाको बिन्धवासिनी सहकारीद्वारा असोज महिनामा ११ लाखभन्दा बढी निशुल्क सदस्य सुरक्षा सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बनेपाको बिन्धवासिनी सहकारीद्वारा असोज महिनामा ११ लाखभन्दा बढी निशुल्क सदस्य सुरक्षा सुविधा



काभ्रे । बनेपा काभ्रेपलाञ्चोकस्थित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज महिनामा मात्रै आफ्ना सदस्यहरूलाई रु. ११ लाख १० हजार ६९२ बराबरको निशुल्क सदस्य सुरक्षा सुविधा प्रदान गरेको छ।

संस्थाले प्रकाशन गरेको असोज महिनाको वित्तीय विवरण अनुसार, सहकारीले असोज महिनामा स्वास्थ्य उपचार, मृत्यु राहत, नवजात शिशु सेवा लगायतका विभिन्न शीर्षकमा सदस्यहरूलाई सुविधा वितरण गरेको हो।

संस्थाका अनुसार, चालु आर्थिक वर्ष ०८२/०८३ को भदौ मसान्तसम्ममा मात्रै सदस्यहरूलाई विभिन्न शीर्षकमा रु. ३० लाख १८ हजार ३३२ बराबरको सुविधा प्रदान गरिएको थियो।

स्वास्थ्य उपचार सुविधाअन्तर्गत भदौ मसान्तसम्म २०७ जना सदस्यलाई रु. १९ लाख ९८ हजार ६१४, र असोजमा ८६ जना सदस्यलाई रु. ८ लाख २० हजार ६२४ बराबरको सुविधा प्रदान गरिएको छ।

त्यस्तै पारिवारिक मृत्यु समवेदना अन्तर्गत भदौ मसान्तसम्म ६२ परिवारलाई रु. ३ लाख ६ हजार ९१७, र असोज महिनामा २२ परिवारलाई रु. १ लाख ७ हजार ५०५ प्रदान गरिएको छ।

सदस्य मृत्यु राहत शीर्षकमा भदौ महिनामा २२ परिवारलाई रु. ३ लाख ८७ हजार ४९०, र असोजमा रु. १ लाख ३३ हजार ४३८ वितरण गरिएको छ।

नवजात शिशु सेवा अन्तर्गत हालसम्म ४७ सदस्यलाई रु. ४७ हजार, र भदौमा ९ जना सदस्यलाई रु. ९ हजार बराबरको सुविधा उपलब्ध गराइएको छ। त्यसैगरी, विशेष उपचार सुविधा शीर्षकमा भदौमा १५ जना सदस्यलाई रु. २ लाख ७८ हजार, र असोजमा २ जना सदस्यलाई रु. ४० हजार बराबरको सहयोग गरिएको जनाएको छ।

वित्तीय विवरण अनुसार संस्थामा हाल ५९ हजार ४४५ जना सदस्य रहेका छन् भने ८ हजार ८२६ जना ऋणी सदस्य छन्। संस्थाको सेयर पूँजी रु. ५४ करोड ९५ लाख ७२ हजार, जगेडा कोष रु. ३९ करोड ६२ लाख ३३ हजार, र अन्य कोष रु. ३ करोड ७६ लाख २३ हजार रहेको छ।

सहकारीले हालसम्म रु. ४ अर्ब ११ करोड ६८ लाख ५५ हजार बचत संकलन गरी रु. ३ अर्ब ५२ करोड ४९ लाख ८४ हजार ऋण लगानी गरेको छ। संस्थाको कुल सम्पत्ति रु. ५ अर्ब ३९ करोड ६३ लाख ४३ हजार पुगेको छ भने संस्थागत पूँजी रु. ३९ करोड ७३ लाख ८१ हजार रहेको विवरणमा उल्लेख छ।

प्रकाशित : 28 October, 2025 11:06 am