काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने उद्देश्यले दुवै पक्षबीच गत असोज २ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार, सुम्निमा हाइड्रोपावरले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ। सो प्रयोजनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्काशन र बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको हो।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष आशीष सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा रहेको पिखुवा खोलाको पानीको बहावको सदुपयोग गरी ४.९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको र आगामी आर्थिक वर्षभित्र उत्पादनमा ल्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यो धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंक० संस्थाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार र सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ।





Comment