राष्ट्रिय सहकारी महासंघद्धारा उद्धार र पुनःस्थापनामा सक्रिय हुन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय सहकारी महासंघद्धारा उद्धार र पुनःस्थापनामा सक्रिय हुन आग्रह



राष्ट्रिय सहकारी महासंघले अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो, कटान र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा जुट्न मुलुकभरका सहकारी संघ–संस्थालाई आह्वान गरेको छ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्ले विभिन्न क्षेत्रमा व्यापक जनधनको क्षति पु¥याएको भन्दै सबै सहकारी संघ–संस्थाले आफ्नो स्थानबाट सक्रिय सहयोग गर्नुपर्ने उल्लेख छ।

नेपाल सरकारले प्रभावित क्षेत्रका नागरिकहरूको खोजी, उद्धार तथा राहतमा गरिरहेको प्रयासको प्रशंसा गर्दै महासंघले यस कार्यमा निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले स्थानीय सरकार, सुरक्षाकर्मी, समुदाय तथा संघ–संस्थासँग मिलेर प्रभावितलाई तत्काल सहयोग पु¥याउन सहकारी अभियानको सामाजिक उत्तरदायित्व रहेको बताए।

विपत्को कारण सहकारी संघ–संस्थाहरू पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै महासंघले सम्बन्धित केन्द्रीय सहकारी संघलाई प्रभावित सदस्यहरूको तथ्याङ्क संकलन गरी महासंघसँग निरन्तर समन्वयमा रहन आग्रह गरेको छ।

विज्ञप्तिमा विपत्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाहरूको सकुसल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, संकटको घडीमा एकता, सहकार्य र मानवीय भावना नै राहत तथा पुनःस्थापनाको वास्तविक आधार हुने उल्लेख गरिएको छ।

प्रकाशित : 6 October, 2025 2:09 pm