काठमाडौँ । नक्सालको सडक चोकमा कहिल्यै सुनसान नदेखिने त्यो भाटभटेनी परिसर अहिले धुलो, काठ र फलामको चाङले भरिएको छ। जहाँ हजारौं मानिसहरू किनमेल गर्न भीडिने गर्थे, आज त्यही स्थानमा मजदुरहरूको भिड छ । तर किनमेलको लागि होइन, पुनर्निर्माणको लागि।
यो दृश्य नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट श्रृंखला भाटभटेनीको नक्साल शाखामा भइरहेको तीव्र पुनर्निर्माण प्रयास हो। केही हप्ता अघिसम्म आगोले खरानी बनाएको यो स्थान अब पुनः उठ्ने संघर्षको केन्द्र बन्दैछ।
एक विनाश, १५ शाखा, अर्बौंको क्षति
हालैको जेनजी आन्दोलनले देशभरि सामाजिक सञ्जालदेखि सडकसम्म हलचल ल्यायो। तर यसको सर्वाधिक प्रत्यक्ष र विनाशकारी असर भाटभटेनी जस्ता ठूलो संस्थामा देखियो। देशभरका १५ शाखामा आगजनी, ४ शाखामा तोडफोड। यसको मूल्य चुकाउनुपर्ने अनुमान १०.८५ अर्बदेखि १५ अर्ब रुपैयाँसम्म गरिएको छ।
धेरैलाई लाग्यो अब भाटभटेनीको गन्ती घट्दै जानेछ। तर यही समयमा एक मान्छे चुपचाप उभिएका थिए, नक्सालको खरानीमा-मीनबहादुर गुरुङ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ नक्साल शाखाको भग्नावशेष नियाल्दै थिए। आँखा भिजेको थियो, तर अनुहारमा हारेको भाव थिएन। “नेपाल गोर्खालीको देश हो, हामी लडेर पनि उठ्छौं,” उनले भने, “मेरै कमजोर बने भने त हजारौँको परिवार कहाँ जान्छ?”
गुरुङका लागि यो व्यापार मात्र होइन, एक जिम्मेवारी हो। देशभरिका हजारौं कर्मचारीहरू भाटभटेनीसँग प्रत्यक्ष–परोक्ष रूपमा आबद्ध छन्। उनीहरूको रोजगारी, आत्मसम्मान र भविष्य-सबै यही सपिङ्ग चेनसँग गाँसिएको छ।
४ महिनामा उठ्ने सपना
“४ महिनाभित्र पुनर्निर्माण गर्छु,” गुरुङको प्रतिज्ञा हो। यो कथन केवल आत्मबलको प्रदर्शन होइन, नक्साल, कोटेश्वर र महाराजगन्ज शाखामा भइरहेको रातदिनको निर्माण कार्य यसको प्रमाण हो। साथै, आंशिक रूपमा क्षति पुगेका शाखाहरू भदौ २५ देखि नै पुनः सञ्चालनमा ल्याइसकिएको छ।
सरकारी सहयोगको आश्वासन
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा गुरुङले सरकारी समर्थन मागे । सुरक्षा, कानुनी सहयोग, र पुनः निर्माणमा सहजता।
सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ। सङ्कटका बेलामा निजी क्षेत्र र सरकारबीचको सहकार्य विशेष अर्थ राख्छ।
उठ्ने मात्र होइन, उठाउने पनि
भाटभटेनीको पुनर्निर्माण केवल एउटा कम्पनी उठ्ने प्रक्रिया होइन, यो देशभर फैलिएका हजारौं सपनाहरू पुनः बाँधिने यात्रा हो। युवा–युवती, कामदार, व्यवस्थापकदेखि ग्राहकसम्म-सबैको भरोसा फेरि एकपटक जिउँदो हुँदैछ।





Comment