काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले आफ्नो ५८ औं स्थापना दिवस तथा ४४ औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ। संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनको आधारमा सभा सम्पन्न गरेको हो।
सभामा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले संघको स्थापना सन् २०२४ साल भदौ २६ गते सहकारी विभाग, काठमाडौंमा दर्ता भई भएको जानकारी दिए। उनले संघले जिल्लाभरका सहकारी संस्थाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहकार्यको प्रवर्द्धन र सहकारी प्रणालीको सहजिकरणमा योगदान पुर्याउँदै आएको बताए।
श्रेष्ठका अनुसार संघले प्रारम्भिक सहकारी संस्था र जिल्ला संघबीचको दूरी हटाई पारदर्शी तथा व्यवस्थित सहकारी अभियानलाई मूर्तरूप दिन पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ।
संघका अनुसार गत आर्थिक वर्षमा कुल १ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको कारोबार गर्दै १ करोड १४ लाख ६७ हजार रुपैयाँ नाफा गरेको छ। चालु आर्थिक वर्षका लागि संघले १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैयाँको कारोबार गर्दै २ करोड ६ लाख ९८ हजार ८८२ रुपैयाँ नाफा गर्ने लक्ष्य राखेको छ।
संघका सचिव प्रकाश बञ्जाराले काभ्रेका १३ वटै पालिकाबाट हालसम्म ५९४ सहकारी संस्था संघमा आबद्ध रहेको जानकारी दिए।
वरिष्ठ पत्रकार रमेश न्यौपाने सम्मानित
सभाको विशेष अवसरमा संघले काभ्रे टाइम्समा आबद्ध वरिष्ठ पत्रकार रमेश न्यौपानेलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेको छ। पत्रकारितामार्फत २७ वर्षदेखि सूचना प्रवाह र सहकारीको प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको संघले जनाएको छ।
सभामा जिल्ला सहकारी संघका पदाधिकारी, सदस्य सहकारी संस्थाका प्रतिनिधिहरू, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





Comment