सिप्रदी र नाडाको सहयोगमा उपत्यकाका १५ ठाउँमा यात्रु सहायता कक्ष, चाडपर्व दुर्घटना रहित बनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सिप्रदी र नाडाको सहयोगमा उपत्यकाका १५ ठाउँमा यात्रु सहायता कक्ष, चाडपर्व दुर्घटना रहित बनाउने



काठमाडौं । नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।

ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा काठमाडौं उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ बसपार्क, नाग ढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उक्त स्थानको यात्रु सहायता कक्ष आजदेखि सञ्चालनमा आउनेछ ।

‘यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको हो,’ उनले भने ।

यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडा दरभन्दा बढी भाडा लिए-नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए/नभएको जाँच गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यस्तै, यात्रु सहायता कक्षले प्रत्येक टिकट काउण्टरमा भाडा दर टाँस्न लगाउनेछ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : 18 September, 2025 7:47 am