काठमाडौं । हालै देशव्यापी रूपमा भएको जेन–जेड आन्दोलन र प्रदर्शनले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा गहिरो प्रभाव पारेको छ। यस सन्दर्भमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
नाडाले घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला रहेको उल्लेख गरेको छ। तर पछिल्ला घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति समेत गम्भीर चिन्ता व्यक्त गरेको छ।
संघले उपभोक्ता विश्वासमा नकारात्मक असर परेको र दीर्घकालीन रूपमा लगानी तथा रोजगारीमा चुनौती थपिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण संवाद र सहमतिका बाटोबाट मात्र जटिल समस्याको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास छ।”
नाडाले व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि आह्वान गरेको छ। साथै, सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस्तै, नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री नियुक्त भएको घटनाप्रति संघले सकारात्मक स्वागत गरेको छ। छिट्टै मन्त्रिपरिषद् गठन हुने र आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी यस सरकारले पुरा गर्नेमा शुभकामना व्यक्त गरिएको छ।
नाडाले एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।





Comment