इक्यानको २९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, स्वदेशमै शैक्षिक अवसर सिर्जनामा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इक्यानको २९औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, स्वदेशमै शैक्षिक अवसर सिर्जनामा जोड




काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो २९औं वार्षिकोत्सव काठमाडौंको र्‍याडिसन होटलमा भव्यताका साथ सम्पन्न गरेको छ। झण्डै तीन दशकदेखि उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय र पारदर्शी परामर्श सेवा प्रदान गर्दै आएको इक्यान शैक्षिक परामर्श क्षेत्रमा एक सशक्त छाता संगठनका रूपमा स्थापित भएको छ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख आतिथ्यका रूपमा उपस्थित थिए। कार्यक्रममा इक्यानका सदस्य, शिक्षाविद्, सरकारी अधिकारी, विदेशी विश्वविद्यालयका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा शैक्षिक परामर्श क्षेत्रका चुनौती, अवसर र भावी रणनीतिबारे गहन छलफल भएको थियो। मन्त्री गुरुङले सम्बोधनका क्रममा इमान्दार नेतृत्व र अनुशासित नागरिकको सक्रियताले मात्र देशको विकास सम्भव हुने बताए। विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्दो अवस्थामा रहेको भन्दै उनले इक्यानलाई स्वदेशमै शैक्षिक र रोजगारीका अवसर सिर्जना गर्न पहल गर्न आग्रह गरे।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले विगत २८ वर्षमा संस्थाले नैतिकता, पारदर्शिता र गुणस्तर कायम राख्दै विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएको बताए। उनले नेपाली विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गर्दै विश्व बजारमा प्रतिस्पर्धी बनाउन इक्यान निरन्तर सक्रिय रहेको उल्लेख गरे। साथै, विदेशमा शिक्षा प्राप्त गरेका विद्यार्थीलाई स्वदेश फर्केर योगदान गर्न प्रेरित गर्नु इक्यानको भावी प्राथमिकता रहेको स्पष्ट पारे।

निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले इक्यान शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन अग्रजहरूको निरन्तर प्रयास र दूरदृष्टिको नतिजा भएको बताए।

त्यसैगरी, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले शिक्षालाई सिमा, धर्म वा जातिसँग जोडेर सीमित गर्न नहुने बताए। उनले नेपालको दोहोरो नीतिप्रति प्रश्न उठाउँदै स्वदेशमै गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

स्थापनाकालदेखि नै इक्यानले विद्यार्थीलाई सही विश्वविद्यालय र कोर्स छनोटदेखि भिसा तथा कानुनी प्रक्रियासम्म सहयोग गर्दै आएको छ। भविष्यमा डिजिटल प्रविधिको उपयोग, परामर्श सेवाको विस्तार र स्वदेशमै शैक्षिक अवसर सिर्जनामा इक्यानले प्राथमिकता दिने बताइएको छ। साथै, विदेशमा शिक्षा हासिल गरेर फर्किएका युवालाई स्वदेशमै रोजगारी र अवसर उपलब्ध गराउन सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूसँग सहकार्य गर्ने रणनीति अघि सारिएको छ।

प्रकाशित : 30 August, 2025 10:22 am