गोरखामा यामाहाको नयाँ शोरुम, FZ र MT का नयाँ भेरियन्ट सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

गोरखामा यामाहाको नयाँ शोरुम, FZ र MT का नयाँ भेरियन्ट सार्वजनिक



गोरखा। यामाहा नेपालले गोरखामा नयाँ ३एस (सेल्स, सर्भिस, स्पेयर्स) शोरुम ‘चन्दा सप्लायर्स’ सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित उद्घाटन समारोहमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले शोरुमको उद्घाटन गरे। कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल पनि उपस्थित थिए।

अत्याधुनिक पूर्वाधार र दक्ष कर्मचारीसहितको यो शोरुममार्फत गोरखाका ग्राहकले मोटरसाइकल तथा स्कुटर बिक्री, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स एउटै स्थानमा पाउनेछन्।

शोरुम उद्घाटनसँगै यामाहाले आफ्ना लोकप्रिय FZ र MT सिरिजका नयाँ भेरियन्टहरू पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी नयाँ मोडलहरूमा आधुनिक डिजाइन, उन्नत प्रविधि र नेपाली राइडरलाई लक्षित विशेष फिचरहरू समावेश गरिएको छ।

कार्यक्रममा बोल्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक अग्रवालले गोरखामा शोरुम विस्तार गर्नु ग्राहकसँग अझ नजिक हुने महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार नयाँ FZ र MT भेरियन्टले उत्कृष्ट स्टाइल, पर्फमेन्स र विश्वसनीयता प्रदान गर्नेछ। उनले यामाहाले ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्च मापदण्ड कायम राख्दै आफ्नो सञ्जाललाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले गोरखाका ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए।

यस शोरुम सञ्चालनमा आएपछि गोरखा र आसपासका क्षेत्रका ग्राहकले मोटरसाइकल, स्कुटर, विशेषज्ञ सर्भिस र स्पेयर पार्ट्स सहजै प्राप्त गर्ने यामाहा नेपालले जनाएको छ।

प्रकाशित : 1 September, 2025 5:02 pm