काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले “सपना तपाईंको, साथ हाम्रो” भन्ने नारासहित ल्याएको यस योजनाअन्तर्गत न्यूनतम रु. ५० लाखदेखि अधिकतम रु. ३ करोडसम्म कर्जा उपलब्ध हुने जनाएको छ।
घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण र घडेरी खरिदका लागि सहज प्रक्रियाबाट कर्जा उपलब्ध हुने बैंकले जानकारी दिएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।
यस योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकले धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरिएको छ भने अन्य अवस्थामा धितो मूल्यको ७० प्रतिशतसम्म मात्र कर्जा उपलब्ध हुने बताइएको छ।
आकर्षक ब्याजदर, सजिलो प्रक्रिया र अतिरिक्त सुविधा सहित ल्याइएको यस कर्जा योजनाले आफ्नै घर बनाउने वा खरिद गर्ने सपना पुरा गर्न ग्राहकलाई ठोस टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।





Comment