काठमाडौँ । माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार नाडा अटो शो २०२५ को समापन कार्यक्रम भृकुटीमण्डप परिसरमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७ औं संस्करणको नाडा अटो शो २०२५ मा १ लाख ७६ हजार ७८९ दर्शकहरुले अबलोकन गरेका छन् ।
निकै व्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भव्य रुपमा सम्पन्न मात्र भएको छैन दर्शकहरुको उपस्थितिको हिसाबले प्रदर्शनी ऐतिहासिक बन्न पुगेको छ । उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । अटो शो विगतको भन्दा निकै भव्य र वृहत भएको अवलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् ।
शोको अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो । शोको पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रेड डायलग विषयमा भएको थियो ।
दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
तेश्रो दिन नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्र्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।
चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईकोे प्र्र्र्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्र्र्रमुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोविलिटी एण्ड नेशनल ड्रिम भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
पाँचौ दिनमा पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आइतबार नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१ औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई नाडा अटोमोवाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ ।





Comment