काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको ‘नाडा अटो शो २०२५’मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ ।
नाडा कार्यसमिति सदस्य मेघराज पौडेलका अनुसार मंगलबार (पहिलो दिन) मात्रै १९ हजार ७०१ जना अवलोकनकर्ताले मेला अवलोकन गरेका छन्, जुन ऐतिहासिक मानिएको छ । उनले भने, “पहिलो दिन नै उल्लेखनीय सहभागिता भयो, बुकिङहरू पनि उत्साहजनक छन् । सहभागी कम्पनीहरूले राम्रो अवसर पाए भने अनुपस्थितहरूले ठूलो अवसर गुमाए ।”
शोमा फ्लाइङ ट्याक्सी र मानवीकृत रोबोट मुख्य आकर्षण बनेका छन् । पौडेलले नयाँ प्रविधिको प्रदर्शनले नेपालमा भविष्यका लागि ‘सस्टेनेबल र सेफर मोबिलिटी’ को सन्देश दिएको बताए । उनले भने, “फ्लाइङ ट्याक्सी, रोबोटिक जस्ता इनोभेसनमार्फत प्रेजेन्ट र फ्युचर मोबिलिटीलाई जोडिएको छ ।”
शोमा बीवाईडी, डिपल, अवतारलगायतका इभी गाडीहरूले पनि उल्लेखनीय उपस्थिति जनाएका छन् । चीनबाट धरौटीमा ल्याइएको फ्लाइङ कार प्रदर्शनपछि पुनः फिर्ता पठाइनेछ ।
नीति निर्माणबारे पौडेलले भने, “फ्लाइङ ट्याक्सी वा नवीनतम प्रविधि नेपालमा सुरक्षित रूपमा भित्र्याउन नीति निर्माण अनिवार्य छ । यसलाई अब बहसको विषय बनाउनुपर्छ ।”
यस पटकको अटो शोमा ३० भन्दा बढी ब्रान्डका गाडी, टायर, लुब्रिकेन्ट्ससहित विभिन्न स्टल रहेका छन् । मेला हेर्न दुई सय रुपैयाँ टिकट दर तोकिएको छ । नाडा अटो शो भदौ ८ गतेसम्म चल्नेछ ।





Comment