नाडा अटो शो २०२५ आजदेखि सुरु, पहिलो पटक प्रधानमन्त्रीले उद्घाटन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शो २०२५ आजदेखि सुरु, पहिलो पटक प्रधानमन्त्रीले उद्घाटन गर्दै



काठमाडौं । १७औँ संस्करणको नाडा अटो शो २०२५ आज (मंगलबार)देखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने अटो शोको उद्घाटन यस पटक पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। अघिल्ला संस्करणमा अर्थमन्त्री वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले उद्घाटन गर्दै आएका थिए।

छ दिनसम्म चल्ने अटो शोमा यसपटक प्रविधि, भविष्यका सवारीसाधन र ऐतिहासिक गाडीहरू प्रदर्शनीमा रहनेछन्। नाडा अध्यक्ष करण चौधरीको संयोजनमा आयोजना हुँदै आएको यो शोलाई यसपटक अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको छ।

उड्ने कारदेखि भिन्टेज मोटर शोसम्म

नाडा अटो शोमा यसपालि विशेष आकर्षणको रूपमा उड्ने कार र रोबोट प्रदर्शन गरिनेछ। साथै, १ दर्जनभन्दा बढी भिन्टेज गाडीहरू राखी भिन्टेज मोटर शो पनि आयोजना हुने नाडाले जनाएको छ। प्रदर्शनीमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा ऐतिहासिक गाडी राखिनेछन्।

सहभागिता

यस संस्करणमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे ब्रान्डले सहभागिता जनाउनेछन्। साथै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहनेछ। स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले यसपटक छुट्टै ‘मेड इन नेपाल पभिलियन’ पनि राखिएको छ।

कार्यक्रम र व्यवस्थापन

सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन हुनेछन्। मेला व्यवस्थित बनाउन मिडिया काउन्टर, ट्राफिक सूचना डेस्कलगायतका सुविधा उपलब्ध गराइने नाडाले जनाएको छ।

प्रायोजक र मुख्य आकर्षण

नाडा अटो शो २०२५ को मुख्य प्रायोजक एमएडब्लू वृद्धि रहेको छ। एमएडब्लूले ल्याएको रोबोट र उड्ने कार यसपटकको प्रमुख आकर्षण हुने अनुमान गरिएको छ।

नाडाले यो संस्करणलाई अघिल्ला संस्करणभन्दा अझ आकर्षक, भविष्यमुखी र व्यवस्थित हुने दाबी गरेको छ।

प्रकाशित : 19 August, 2025 7:59 am