अढाई दशकभन्दा बढी समयदेखि अटोमोबाइल व्यवसायमा सक्रिय सुरेन्द्र कुमार उप्रेतीले नेपालमा देखिएका सामाजिक, आर्थिक र राजनीतिक उतारचढावलाई नजिकबाट प्रत्यक्ष अनुभूति गरेका छन्। निरन्तर व्यवसायिक यात्रामा संलग्न रहँदै उनले अटोमोबाइल उद्योगलाई व्यवस्थित र संस्थागत बनाउन उल्लेखनीय योगदान पुर्याएका छन्।
नेपाल अटोमोबाइल व्यवसायीहरूको साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएसन पनि उप्रेतीजस्ता व्यवसायीहरूको अधिकार संरक्षण, सहज वातावरण निर्माण र दीर्घकालीन उद्योग विकासमा निरन्तर सक्रिय रहँदै आएको छ। देशभरका साझेदार संस्थासँग सहकार्य गर्दै नाडाले अटोमोबाइल क्षेत्रमा औद्योगिक विकास, राजस्व अभिवृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यिनै विषयलाई केन्द्रबिन्दु बनाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका महासचिव सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ।
अटो शो सफल बनाउन नाडाको तयारी कस्तो छ ?
अटो शोको तयारी पूर्णरूपमा सम्पन्न भइसकेको छ। संस्थाका सदस्य र पदाधिकारीहरूले विभिन्न समिति र उपसमितिहरू गठन गरी सम्पूर्ण तयारीमा सक्रिय भूमिका खेलेका छन्। सचिवालयका कर्मचारी र व्यवसायी साथीहरूको सहयोगले शो अत्यन्तै व्यवस्थित र भव्य बन्ने अवस्था छ।
यसपटकको अटो शो मुख्यत : ईभी केन्द्रित देखिन्छ। तर अन्य ब्राण्डहरूको उपस्थिति कस्तो छ ?
नाडा अटो शो केवल गाडी प्रदर्शनको इभेन्ट मात्र होइन। यहाँ नीतिगत बहस, छलफल, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र भविष्यको अटोमोबाईल नीति सम्बन्धी विमर्श पनि हुने गर्दछ। विश्वव्यापी रूपमा ईभी लोकप्रिय भए पनि शोमा अन्य ब्राण्ड र प्रविधिहरू पर्याप्त रूपले उपस्थित छन्। यद्यपि ईभीको उपस्थिती बढी देखियो भने पनि अरु प्रविधिहरूको पनि बराबरीमा प्रतिनिधित्व छ।
स्पेयर पार्ट्स र कम्पोनेन्टहरूको सहभागिता कस्तो देखिन्छ ?
स्पेयर पार्ट्स र अटोमोबाईल कम्पोनेन्टहरू सवारी साधनको अभिन्न हिस्सा हुन्। हामीले सबै व्यवसायीलाई समान अवसर दिई स्टल बुकिङमा सहभागी हुन आग्रह गरेका छौं। विगतमा तुलनात्मक रूपमा कम देखिने स्टलहरू यसपटक पर्याप्त छन्।
अटोमोबाईल व्यवसायमा देखिएका समस्या समाधानका लागि नेतृत्वको भूमिका के छ ?
अघिल्ला वर्षमा आर्थिक मन्दीका कारण व्यवसाय चुनौतीपूर्ण अवस्थामा थियो। उच्च ब्याजदर, सरकारी नीति र कानुनी अस्थिरताले व्यवसायमा प्रतिकूल असर पारेको थियो।
हामीले संस्थागत प्रयासमार्फत विभिन्न स्टेकहोल्डरसँग बहस र छलफल गर्दै आएका छौं। यद्यपि हामी सरकार होइनौंस निजी क्षेत्रको प्रतिनिधि संस्था भएर हाम्रा गतिविधिहरू अगाडि बढ्छन्। हाम्रो कार्यकालमा व्यवसायीको हकहितका लागि लामो सूचीमा काम गरिएको छ। अहिले परिस्थिती सुधारिएको छ र आशावादी दृष्टिकोण राख्न सकिन्छ।
वर्तमान आर्थिक परिस्थितीमा अटो शोले बजारलाई गति दिन सक्छ ?
अहिले निराशा ओकल्ने समय छैन। देशको अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिएका छन्। बैंक ब्याजदर घट्दैछ, सवारी साधन आयात–निर्यात बढ्दैछ। उपभोक्तालाई विभिन्न विकल्प उपलब्ध छन्। व्यवसायीहरूले उपभोक्ताको रुचि अनुसार अघि बढेमा बजार गतिशील रहन्छ र अटोमोबाईल उद्योगमा पनि सकारात्मक प्रभाव पर्नेछ।





Comment