काठमाडौं । बनेपा–६, काभ्रेपलाञ्चोकस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस वर्षको नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार–२०८२ प्राप्त गरेको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३८औं स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यो घोषणा गर्दै पुरस्कार वितरण गरिएको हो। संघले हरेक वर्ष आफ्ना सदस्य सहकारीहरूमध्ये एक संस्थालाई उत्कृष्ट साकोस पुरस्कार प्रदान गर्दै आएको छ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले योगदान पुर्याउने सहकारी र व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले पुरस्कृत सहकारीको नाम घोषणा गरेका थिए।
संस्थाका तर्फबाट अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेक राज ठकुरीसहित सञ्चालक र कर्मचारीहरूले पुरस्कार ग्रहण गरेका थिए। यसअघि पनि संस्थाले २०७४ सालमा नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार पाइसकेको थियो।
२०५० सालमा स्थापना भएको बुडोल सामुदायिक साकोसमा हाल १९ हजार ५७३ सदस्य आवद्ध छन्। संस्थाको कुल सम्पत्ति करिब २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने संस्थागत पुँजी १७ करोडभन्दा बढी रहेको छ। सहकारी स्तरीकरण कार्यक्रमअन्तर्गत यसले २०६९ सालमा एक्सेस ब्रोन्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरिसकेको छ।
साथै, संस्थाले २०७० सालमा राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार पनि प्राप्त गरेको थियो।





Comment