नाइमा मोबिलिटी एक्स्पो २०२५ः विद्युतीय गाडीको रौनक, मूल्य कटौतीको लहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाइमा मोबिलिटी एक्स्पो २०२५ः विद्युतीय गाडीको रौनक, मूल्य कटौतीको लहर



काठमाडौं । काठमाडाैको भृकुटीमण्डप यतिबेला मोटर–प्रेमीहरूको स्वर्ग बनेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको मोबिलिटी एक्स्पो २०२५ मा प्रवेश गर्ने जो–कोहीलाई विद्युतीय गाडीको बर्चश्वले मोहित पार्छ। चिल्ला बडी, आकर्षक डिजाइन र धुवाँरहित भविष्यको संकेत यहाँ भेटिन्छ।

यो महोत्सवमा ५० भन्दा बढी ब्रान्डको सहभागिता छ, जसले प्यासेन्जर कारदेखि मोटरसाइकल र कमर्सियल भेइकलसम्म प्रदर्शन गरेका छन्। करिब तीन दर्जन नयाँ मोडल सार्वजनिक भएका छन्। बीवाईडी, जेको, लिपमोटर, फक्सवागन, म्याक्सस, महिन्द्रा जस्ता कम्पनीले नयाँ विद्युतीय मोडल ल्याएका छन् भने फरथिङले पहिलोपटक नेपालमा आधिकारिक प्रवेश गरेको घोषणा गरेको छ।

मूल्य कटौतीको प्रतिस्पर्धा

यसपटकको एक्स्पोमा सबैभन्दा ठूलो चर्चा ‘मूल्य युद्ध’को हो। विभिन्न कम्पनीले गाडीमा भारी छुट घोषणा गरेका छन्। प्यूजो एसयूभीमा २५ लाख कटौती भई मूल्य १ करोड ५० लाखमा झरेको छ। निसान लिफ इभि मा २० लाख छुट दिइएपछि अब ४४ लाख ९९ हजारमै खरिद गर्न सकिन्छ। जीकर EX मा दुई चरणमा गरी हालसम्म १५ लाख कटौती भएको छ। लीपमोटर B10 मा १० लाख छुट भई ४९ लाख ९९ हजारमा, म्याक्सस MIFA 7 मा १० लाख छुट भई १ करोड १५ लाखमा उपलब्ध छ। हुन्डाईका मोडलहरूमा ८ लाखसम्म छुटसँगै बीमा, वारन्टी र विदेश भ्रमणको अफर पनि छ।

थप सुविधा र अफर

नगद छुटसँगै, ग्राहक तान्न कम्पनीहरूले लोभलाग्दा अफरहरू थपेका छन्। बिवाइडीले नि:शुल्क बीमा, पोर्टेबल चार्जर, १० वर्ष वारन्टी र एप कनेक्टिभिटी दिएको छ। फरथिङ फ्राइडे इभिमा चार्जर, ८ वर्ष वारन्टी र ६ वर्ष नि:शुल्क मर्मत सुविधा छ। प्रोटोन EMAS 7 मा ब्याट्री वारन्टीसँगै शून्य प्रतिशत ब्याजमा चार वर्षको कर्जा पाउने व्यवस्था छ। टोयोटाले हाइब्रिडमा ८ लाख र नयाँ प्राडोमा ११ लाखसम्म छुट दिएको छ।

इभि बजारको विस्तार

यो एक्स्पो केवल बिक्रीको अवसर मात्र होइन, नेपालमा विद्युतीय सवारीसाधनप्रतिको तीव्र रुचिको प्रमाण पनि हो। एकै ठाउँमा विभिन्न ब्रान्डका इभि हेर्ने, मूल्य तुलना गर्ने र प्रत्यक्ष बुकिङ गर्ने सुविधा उपभोक्ताले पाएका छन्। ठूलो मूल्य कटौतीका कारण पहिले प्रिमियम श्रेणीमा पर्ने मोडलहरू अहिले धेरै उपभोक्ताको पहुँचमा आउँदैछन्।

एक्स्पोमा सबैभन्दा धेरै छुट पाएका ५ मोडल

प्यूजो एसयूभी — २५ लाख छुट

निसान लिफ EV — २० लाख छुट

जीकर EX — १५ लाख छुट

लीपमोटर B10 — १० लाख छुट

म्याक्सस MIFA 7 — १० लाख छुट

प्रकाशित : 9 August, 2025 9:51 am