काठमाडाैँ । सवारीसाधनको क्षेत्रमा नेपालले इतिहासकै एक विशेष मोड पार गर्दैछ। साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ ले भविष्यको यातायात प्रविधिको झल्को दिने तयारी गरेको छ। विद्युतीय सवारीप्रतिको चासो र आकर्षण बढ्दो रहेको यो समयमा, यो एक्स्पोले नेपालमा मोबिलिटीको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।
५० भन्दा बढी ब्रान्ड, ३५ नयाँ मोडलहरू
यस प्रदर्शनीमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवारी ब्रान्डहरूको सहभागिता रहनेछ। ३५ वटा नयाँ मोडलहरू पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुँदैछन्, जसमा धेरैजसो विद्युतीय प्रविधिमा आधारित छन्। ट्रक, भ्यान, मिनीबस, एसयुभी, स्कूटरदेखि प्रीमियम मोटरसाइकलसम्मका विभिन्न मोडलहरू एउटै स्थलमा अवलोकन गर्न सकिनेछ।
विद्युतीय एसयुभीको आकर्षण
चिनियाँ ब्रान्ड जाइकोले जे ५ ईभी र जे ७ मोडल प्रस्तुत गर्नेछ भने बीवाईडीको नयाँ इलेक्ट्रिक एसयुभी सिल लायन ७ पनि पहिलोपटक सार्वजनिक हुनेछ। महिन्द्राले भारतमा चर्चित बि–६ र एक्सयुभी. ई ९ को नेपालमा झलक देखाउनेछ। त्यस्तै, प्रोटोनको ईमास ७, कियाको ईभी–५ लगायतका मोडलले प्रदर्शनीमा विद्युतीय एसयुभी सेग्मेन्टलाई बलियो बनाउनेछन्।
दुईपांग्रे सवारीमा नयाँ मोडलको भीड
२–ह्वीलर सेग्मेन्टमा पनि प्रतिस्पर्धा निकै रोचक देखिन्छ। एम्पेयर, एथर इनर्जी, एनआईयू, गोगोरो, अल्ट्राभायोलेट, सेगवे नाइनबट, रिभोल्ट लगायत ब्रान्डहरूले आफ्नो विद्युतीय स्कूटर तथा मोटरसाइकलहरू पहिलोपटक सार्वजनिक गर्दैछन्। पेट्रोल इन्जिनमा आधारित ब्रान्डहरू — होन्डा, बजाज, सुजुकी, केटीएम, ट्रायम्फ, बेनेल्ली आदिका नयाँ मोडलहरूले परम्परागत मोटरसाइकल प्रेमीलाई पनि लोभ्याउनेछन्।
व्यावसायिक सवारीमा पनि विद्युतीय मोडेलको प्रवेश
डोङफेङ, सनलङ, किङ लङ, चेरी वान्डा, स्काइवर्थ लगायत चिनियाँ व्यावसायिक सवारी निर्माताहरूले साना डेलिभरी भ्यानदेखि ठूला बस र ट्रकसम्म विद्युतीय विकल्प प्रस्तुत गर्दैछन्। स्मार्ट कनेक्टिभिटी, उच्च लोड क्षमता र दिगो प्रयोगका लागि यिनको प्रयोग नेपाली बजारमा नयाँ सम्भावना बोक्नेछ।
सवारीको परिभाषा नै फेरिँदै
यो एक्स्पो केवल सवारी साधनको प्रदर्शनी मात्र होइन, यो नेपालमा विद्युतीय र स्मार्ट मोबिलिटीतर्फको संक्रमणको संकेत हो। नयाँ प्रविधि, स्मार्ट फिचर, फास्ट चार्जिङ, मोबाइल एप कन्ट्रोल, रिमोट ट्र्याकिङजस्ता सुविधाहरूले सवारीको परिभाषा नै फेरिँदैछ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा सहभागी हुने सबै ब्रान्डहरू नयाँ मोडलहरूका साथ प्रि–बुकिङ अफर, राइड टेस्ट, तथा बिशेष योजना लिएर उपभोक्तासमक्ष आइपुग्नेछन्। उपभोक्ताहरूका लागि यो एक्स्पो अवलोकन मात्र नभई अनुभवको अवसर पनि हुनेछ।





Comment