काठमाडौं । बजाजको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘चेतक ईभी’ नेपाल भित्रिएको छ । कम्पनीको विभिन्न मोडेलमध्ये ‘३५०१’ मोडेल नेपाल ल्याइएको हो ।
हालका लागि केही युनिट मात्रै परीक्षणका लागि भित्र्याइएको हुलास अटोक्राफ्ट प्रालिले जानकारी दिएको छ । हुलास अटोक्राफ्ट बजाज ब्राण्डको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो । कम्पनीका अनुसार उक्त स्कुटर यही वर्ष हुने नाईमा मोबिलिटी एक्सपोमार्फत आधिकारिक रूपमा सार्वजनिक तथा प्रदर्शनीमा राखिने छ ।
चेतक ईभीमा ३.५ किलोवाट क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले एकपटक फुल चार्जमा १५३ किलोमिटर दूरी पार गर्न सक्छ । स्कुटर ७३ किलोमिटर प्रतिघण्टासम्मको गति लिएर कुद्न सक्छ भने यसको ब्याट्री ३ घण्टामा ८० प्रतिशत चार्ज हुने क्षमता राख्दछ ।
प्रयोगकर्तालाई सहज बनाउन यस स्कुटरमा ३५ लिटर बराबरको अन्डर सिट स्टोरेज दिइएको छ । साथै, वाटर प्रुफ रेटिङ आईपी६७ रहेको स्कुटरमा ४ किलोवाट क्षमताको स्थायी चुम्बक तुल्यकालिक मोटर प्रयोग गरिएको छ । सुरक्षा पक्षलाई ध्यानमा राख्दै स्कुटरमा डिक्स ब्रेकको सुविधा पनि उपलब्ध छ ।
स्कुटरमा ५ इन्चको रंगीन टीएफटी डिजिटल डिस्प्ले दिइएको छ, जुन ब्लुटुथमार्फत स्मार्टफोनसँग जडान गर्न सकिन्छ । साथै, रिभर्स मोड, ओभर स्पीड अलर्ट दिने एआई प्रविधि जस्ता विशेषता समेत यसमा समावेश छन् । कम्पनीले स्कुटरसँग ३ वर्ष अथवा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ ।
भारतमा बजाज चेतक ईभीको मूल्य १ लाख ४२ हजारदेखि १ लाख ५० हजार भारुसम्म कायम गरिएको छ । नेपालमा यसको मूल्य घोषणा भने मोबिलिटी एक्सपोपछि हुने बताइएको छ । विद्युतीय सवारीमा बढ्दो चासोको सन्दर्भमा चेतक ईभी नेपाली बजारमा एक आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।





Comment