काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस ‘सहकारीहरू: एक राम्रो विश्वको लागि समावेशी र दिगो समाधानका संवाहक’ भन्ने नाराका साथ असार २१ गते शनिबार भव्य समारोहका साथ मनाइने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी दिएको हो।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आयोजना गर्न लागेको यस दिवसको मूल उद्देश्य समावेशी विकास र दिगो समाधानका लागि सहकारीको महत्त्वपूर्ण योगदानलाई सम्मान गर्नु रहेको जनाएको छ ।
यो कार्यक्रम देशभरका सबै सहकारी संघ/संस्थाहरू, संघीय सरकारका विभिन्न मन्त्रालयहरू, प्रदेश सरकारहरू, स्थानीय तहहरू, दातृ निकायहरू, गैर-सरकारी संस्थाहरू र अन्य सरोकारवालाहरूको सहभागितामा आयोजना हुने जनाएको छ। कार्यक्रममा अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक, सहकारी विकास बोर्ड लगायतका सरकारी निकायहरूको पनि संलग्नता रहनेछ।
यस दिवसले सहभागितामूलक, समानता, न्याय र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिने सन्देश दिएको छ। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको यस वर्षको नारा समावेशी र दिगो समाधानका संवाहकको रूपमा सहकारीहरूको योगदानलाई मान्यता दिन र राम्रो संसारको लागि सहभागितामूलक, समानता, न्याय र मानवीय मूल्यमा आधारित सहकारी विकासमा जोड दिनको लागि उपयुक्त रहेको बताएका छन।
कार्यक्रमका विषयगत विषयहरू तथा गतिविधिहरू:
अन्तर्राष्ट्रिय दिवसका साथ सन्दर्भयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिनेछ।
हरेक क्षेत्र, समाज, वर्ग र समुदायको प्रगतिमा सहकारीको योगदानबारे आफ्ना धारणाहरू प्रस्तुत गरिनेछ।
उपभोक्ता सहकारीको व्यावसायिकता विकासको प्रदर्शनी स्टल राखिनेछ।
महिला सहकारी संस्थाहरूको उत्पादन वस्तुको प्रदर्शनी स्टल राखिनेछ।
नीतिगत साझेदारीमा सहकारी मैत्री नीति निर्माणमा प्रतिबद्धता व्यक्त गरिनेछ।
सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने संघ/संस्थाहरू, कर्मचारी, पत्रकार र व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
सहकारीले सन् १९९५ देखि हरेक वर्ष जुलाईको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ। यस वर्ष ११२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो। यो दिवसले सहकारी सिद्धान्त, समावेशीकरण, सुशासन र दिगोपनाका आधारहरूलाई अँगालेर विश्वभरका सहकारी आन्दोलनलाई एकताबद्ध गर्ने सन्देश दिएको छ।
समग्रमा, सहकारी समाजको परिवर्तन र दिगोपनका लागि समाधान हुन् भन्ने सन्देश यो दिवसले दिनेछ।
Comment