काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शिक्षा तथा संस्थागत उपसमितिको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को साझेदारीमा एक दिने ‘सहकारीमा जोखिम व्यवस्थापन’ विषयक तालिम भक्तपुरको के.भी. लन्ज, कमलविनायकमा सम्पन्न भएको छ।
तालिमको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी क्षेत्रमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै यस्ता जोखिम न्युनिकरणका उपायहरू अवलम्बन गर्दै मात्र सहकारीको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे। उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ल्याएको नयाँ मापदण्डहरू प्रारम्भिक चरणमा उल्टै संस्थामा तरलता संकट उत्पन्न गराउने खतरा रहेको समेत बताए।
संघका सचिव जगनाथ प्रजापतिले हरेक क्षेत्रमा जोखिम अवश्य हुने भएकाले सहकारीहरूले पनि आफैंले वहन गर्न सक्ने मात्र जोखिम लिनुपर्ने सुझाव दिए। तालिममार्फत जोखिमको पहिचान, मूल्याङ्कन र नियन्त्रणका उपायबारे जानकारी प्रदान गर्नु तालिमको उद्देश्य रहेको उनले बताए।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थाहरू आन्तरिक र बाह्य दुबै खालका जोखिमको सामना गरिरहेको बताउँदै आन्तरिक जोखिम न्यूनीकरणमा सञ्चालक तथा व्यवस्थापन पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए। उनले कानुन, नियम तथा नियमनकारी निकायका मापदण्डले बाह्य जोखिम थपिएको उल्लेख गरे।
तालिममा नेफ्स्कूनका तालिम अधिकृत उमेश कोईरालाले जोखिम व्यवस्थापनको अवधारणा, प्रकार, र सहकारीमा लागू गर्न सकिने व्यावहारिक रणनीतिहरूमा सहभागीहरूलाई प्रशिक्षण दिए।
कार्यक्रमको समापन शिक्षा तथा संस्थागत उपसमितिकी सदस्य चन्दिका छुंकाले गरेका थिए। उनले तालिममा सिकिएका कुराहरू संस्थागत कार्यान्वयनमा लैजान आग्रह गरे।
तालिममा भक्तपुर जिल्लाका विभिन्न सदस्य सहकारी संस्थाबाट १९ जना सहभागी भएका थिए। सहभागीमध्ये चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले तालिम उपयोगी तथा व्यावहारिक भएको प्रतिक्रिया दिएका थिए।
Comment