गैंडाकोट, नवलपरासी । स्थानीयस्तरमा सहकारी अभियानको सफल नमुना बनेको किसान बचत तथा ऋण सहकारी संस्था ३० वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । २०५२ साल असार १५ गते २५ जना सदस्यबाट सुरु भएको संस्थाले हालसम्म २५ वटा सहकारी संस्थाबीच एकीकरण गर्दै संस्था विस्तार गरेको हो।
संस्थाले ३०औं स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गरे भने प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी र विशिष्ट अतिथि उपमेयर शान्ति कोईरालाको उपस्थिति थियो।
स्थापना सप्ताहको अवसरमा संस्था र यसको सेवा क्षेत्रभित्र विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरिएका छन्। असार १३ गते कावासोतीको ज्ञानोदय मावि र गैंडाकोटको जनक नमुना माविमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्यमा सम्पन्न कार्यक्रममा ट्राफिक नियमबारे जानकारी दिइएको थियो। त्यस्तै जनक नमुना मावि क्षेत्र वरपर जेब्राक्रस निर्माण गरिएको संस्थाले जनाएको छ।
असार १४ गते बिहान ७स्३० बजेबाट एकैसाथ सबै सेवा केन्द्रहरुबाट सार्वजनिक स्थल सरसफाई अभियान सुरु गरिएको थियो। दुई दर्जनभन्दा बढी स्थानमा सञ्चालक, कर्मचारी, उपसमिति तथा स्थानीय सदस्यहरूको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीनाले जानकारी द्रिए।
तनहुँ, चितवन र नवलपुर जिल्लाभित्रका विभिन्न मन्दिर, पार्क, चौतारी, स्वास्थ्यचौकीलगायत स्थानमा सरसफाई अभियान सञ्चालन गरिएको थियो।
स्थापना दिवसकै दिन राष्ट्रिय धान दिवसको अवसरमा पञ्चवटि सेवा क्षेत्रका कृषकहरूसँग मिलेर १० कठ्ठा धान खेतमा सामूहिक धान रोपाई कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
सोही अवसरमा ५१ जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूलाई प्रमुख अतिथि मेयर अधिकारी र उपमेयर कोईरालाले सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा मेयरले सहकारीको विश्वसनीयता र गैंडाकोट नगरको सहकारी पहिचानमा किसान साकोसको योगदानको प्रशंसा गरे। उपमेयरले महिलाको आर्थिक सशक्तीकरणमा संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा राखे।
संस्थाले विगत ३० वर्षको यात्रामा विभिन्न संस्था एकीकरण गर्दै सदस्य सेवामै केन्द्रीत हुने नीति अवलम्बन गरेको अध्यक्ष पौडेलले बताए। पूर्व नेतृत्वकर्ताहरूसँगको साक्षात्कार कार्यक्रममार्फत संस्थाको ऐतिहासिक अनुभव आदान–प्रदान र साझा स्वामित्वको भावना बलियो बनाउने प्रयास गरिएको पनि उनले उल्लेख गरे।
‘समृद्ध सदस्य, दिगो साकोस’ भन्ने परिकल्पनासहित ४ अर्बभन्दा बढी कुल सम्पत्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त किसान साकोसले सहकारी क्षेत्रमा उदाहरणीय अभ्यास गर्दै आएको छ।
Comment