सहकारी क्षेत्रभित्र आशंका होइन, सुधारको आँधी ल्याउँदैछौं : अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी क्षेत्रभित्र आशंका होइन, सुधारको आँधी ल्याउँदैछौं : अध्यक्ष ढकाल



धुलिखेल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानलाई सशक्त रूपमा अघि बढाउन सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्।

नेफ्स्कूनको आयोजनामा र नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को संयोजनमा काभ्रेको धुलिखेलमा आयोजित ‘कूपलेन्स : सहकारी पत्रकारको दृष्टिकोण’ विषयक तालिममा बोल्दै उनले सहकारी संस्थाहरूले गरेका कामलाई सही दृष्टिकोणमा प्रस्तुत गर्न पत्रकारको उत्तरदायित्व महत्वपूर्ण हुने धारणा राखे।

“सञ्चार माध्यमको दृष्टिकोणले सहकारीलाई माथि उठाउन पनि सक्छ, कमजोर बनाउने स्थिति पनि ल्याउन सक्छ,” उनले भने, “सञ्चारकर्मीहरूले देख्ने लेन्सले नै सहकारीको दिशा निर्धारण हुन्छ।”

उनले सहकारी क्षेत्र सुधार गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै सो सुधारका लागि नेफ्स्कून निरन्तर तयार रहेको स्पष्ट पारे।

सहकारी ऐन प्रक्रियामा असन्तुष्टि

अध्यक्ष ढकालले पछिल्लो समय सहकारी क्षेत्रमा आएको कानुनी व्यवस्था अपेक्षाभन्दा फरक ढंगले प्रस्तुत भएकाले विवाद उत्पन्न भएको बताए।
उनले अध्यादेशमार्फत ऐन ल्याउने अभ्यास सुरु गरिएपछि संसदबाट स्वीकृति नपाएपछि प्रतिस्थापन विधेयकमार्फत ऐन ल्याइनु सहकारी मूल्य र मान्यतासँग मेल नखाने बताए।

“सहकारी क्षेत्र अति संवेदनशील हो, यसलाई सुधारको नाममा अन्योलमा पार्न मिल्दैन,” उनले भने, “प्रतिस्थापन विधेयकले समस्याको समाधान होइन, नियामक संस्था स्थापना गर्ने औपचारिकता मात्रै देखिएको छ।”

प्राधिकरणको मापदण्डप्रति आलोचना

अध्यक्ष ढकालले सहकारी नियमन प्राधिकरणले जारी गरेका नियामकीय मापदण्डहरूले नेफ्स्कूनको दशकौँ पुरानो बचत–ऋण कारोबारमाथि प्रश्न उठाएकोमा गम्भीर आपत्ति जनाए।

“हामीले सहकारी ऐनको परिपालना गर्दै नियामक निकायको स्वीकृति लिई कारोबार गर्दै आएका हौं,” ढकालले भने, “तर अहिले यस्तै कारोबारलाई नै अवैधजस्तो चित्रण गर्ने प्रयास भइरहेको छ, जुन गलत हो।”

उनले नेफ्स्कूनले देशभर सहकारीहरूको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै संस्थाको अभियानमाथि उठाइएको शंका तथ्यविहीन रहेको बताए।

भ्रष्टाचार होइन, व्यवस्थापन चुनौती

नेफ्स्कूनमा आन्तरिक सुशासन कमजोर हुनसक्ने सम्भावना रहे पनि त्यसलाई अनियमितताको रूपमा बुझ्न नहुने ढकालको भनाइ छ।
“सदस्य संस्थाहरूले लाभांश वितरण गर्न नसक्नुको कारण प्रतिकूल परिस्थिति हो, अनियमितता होइन,” उनले स्पष्ट पारे।
“नेतृत्वमा बसेका कसैले पनि असफलता चाहँदैनन्, तर कर्म त्यस अनुसार हुनुपर्छ,” उनले थपे।

नेफ्स्कूनमा सुधारको थालनी

अध्यक्ष ढकालले दुई वर्षअघि निर्वाचित भएयता नेफ्स्कूनमा थुप्रै सुधारको सुरुवात भएको उल्लेख गरे। उनले भविष्यमा सहकारी प्रणालीलाई अझ प्रभावकारी र पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

सञ्चारसँग सहकार्यमा जोड

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आर्थिक वर्ष २०८१/८२ का योजनामा सञ्चारसँग सहकार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै सोही अन्तर्गत सीजेएनसँगको सहकार्यमा तालिम आयोजना गरिएको बताए।

“अब सहकारीलाई केवल स्थानीय दृष्टिकोणबाट होइन, समष्टिगत आर्थिक संरचनाको अंशका रूपमा बुझ्न आवश्यक छ,” सापकोटाले भने।
उनले वित्तीय सहकारीहरूमा जोखिम न्यूनीकरणका लागि आन्तरिक सुशासन, पारदर्शिता, सञ्चालकको दृष्टिकोण, सदस्यसँगको सम्बन्ध र सञ्चालन पद्धति मजबुत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सीजेएनका अध्यक्ष काजी श्रेष्ठले स्वागत मन्तव्य राख्दै तालिमले सहकारी पत्रकारितामा कार्यरत सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २२ जना पत्रकार सहभागी थिए।

प्रकाशित : 28 June, 2025 8:07 am