सहकारी संस्थासँग प्रगति विवरण माग्दै बूढानीलकण्ठ नगरपालिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी संस्थासँग प्रगति विवरण माग्दै बूढानीलकण्ठ नगरपालिका



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सहकारी संस्थासँग प्रगति विवरण माग्न थालेको छ। सहकारी संस्थामा सुशासन प्रवद्र्धनका लागि नगरपालिकाले सञ्चालक र कर्मचारीहरूलाई दिएको तालिम प्रभावकारी बने–नबनेको मूल्यांकन गर्न यस्तो पहल गरिएको नगर प्रमुख मिठाराम अधिकारीले जानकारी दिए।

कपनमा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, “नगरपालिकाले केही खर्च गरेपछि त्यसको प्रतिफल देखिनुपर्छ। नभए खर्चको औचित्य रहँदैन।” उनले तालिमलाई अझ प्रभावकारी बनाउन ४५ मिनेट प्रशिक्षण र १५ मिनेट प्रतिक्रिया संकलनको ढाँचा अवलम्बन गर्न सुझाव पनि दिए।

अनुगमनको असर

अधिकारीका अनुसार नगरपालिकाले सहकारीको नियमित अनुगमन गरिरहेको छ। “अनुगमन थालेपछि संचालक र कर्मचारीमा अलिकति खुल्दुली देखिन्छ, नभए जे गरे पनि भइहाल्छ भन्ने प्रवृत्ति देखिन्छ,” उनले भने।

सहकारी सुधारका लागि नगरको तर्फबाट सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै अधिकारीले सहभागीहरूलाई आफ्नो संस्था कसरी अझ राम्रो बनाउन सकिन्छ भन्नेमा लाग्न आग्रह गरे।

कानुनले थप चुनौती

वडा नं. १२ का अध्यक्ष शम्भु भट्टराईले सहकारीसम्बन्धी कानुन कडा बनेपछि राम्रा सहकारी पनि संकटमा परेको बताए। “सरकारले ल्याएको कानुनले हाम्रा पुराना सहकारीहरूलाई चलाउनै गाह्रो बनाएको छ,” उनले गुनासो गरे।

उनले केही सहकारीका संचालक जेल परेको, मुद्दा चलेको उल्लेख गर्दै सहकारीकर्मीहरूलाई ऋण लगानी गर्दा सचेत हुन आग्रह गरे। “फसिसकेपछि जनप्रतिनिधि भनेर आएर केही हुँदैन,” उनले स्पष्ट गरे।

समस्याबाट भाग्ने होइन, जुध्ने समय हो

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून० का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा देखिएका समस्याको समाधान गर्न सहकारीकर्मीहरूले प्रतिवद्ध भएर जिम्मेवारी लिनुपर्नेमा जोड दिए। “समस्या छ भनेर पछि हट्ने होइन, समाधान गर्न लाग्नुपर्छ,” उनले भने।

ढकालले केही संचालकको महत्वाकांक्षी रवैयाले सदस्यको पैसा अपचलन भएको र सदस्यले ऋण फिर्ता नगर्दा समस्या थपिएको बताए। उनले कानुनी प्रक्रिया र सरकार–संघसंस्थाबीचको समन्वयमार्फत समस्या समाधान गर्न सुझाव दिए।

नीति, विधि र प्रविधिको संयोजन आवश्यक

नेफ्स्कूनले प्राधिकरणको निर्देशन तथा मापदण्डमा भएका असहज प्रावधान सहज बनाउन पहल गरिरहेको उनले जानकारी दिए। सहकारी सञ्चालनका लागि नीति, विधि, प्रविधि र संस्थागत सहयोग अनिवार्य भएको उनले उल्लेख गरे।

सहभागिता र प्रशिक्षण

सहकारी हकहित राष्ट्रिय समाजको आयोजनामा सम्पन्न उक्त प्रशिक्षणमा नगर सहकारी शाखा प्रमुख अच्युत खड्का, नेफ्स्कूनका पूर्व सिईओ कुवेर निरौला, समाजका अध्यक्ष गोविन्द गिरी र सचिव ऋषिराम ढकाललगायतले सहकारीकर्मीहरूलाई प्रशिक्षण दिए।

कार्यक्रममा बूढानीलकण्ठ नगर भित्रका सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित : 10 June, 2025 5:19 pm