काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई सबल बनाउने उद्देश्यका साथ क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटीयू) बीच आपसी सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता कार्यक्रम नेपालगञ्ज, बाँकेमा सम्पन्न भएको हो।
क्यान महासंघ नेपालभरको सूचना प्रविधि क्षेत्रको प्रतिनिधित्व गर्ने राष्ट्रिय गैरनाफामुखी संस्था हो भने लुम्बिनी प्राविधिक विश्वविद्यालय एक सार्वजनिक प्रविधिमूलक विश्वविद्यालय हो, जसले नेपालगञ्जमा आफ्नो स्थायी केन्द्र राखेको छ।
दुवै संस्थाले संयुक्तरूपमा नवप्रवर्तन प्रवर्द्धन, सीप विकास, अनुसन्धान तथा उद्योग–शिक्षा सहकार्यको माध्यमबाट नेपालको डिजिटल रुपान्तरणमा योगदान पुर्याउने साझा उद्देश्यसहित यो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सहकार्यका मुख्य क्षेत्रहरू:
संयुक्त कार्यक्रम तथा इभेन्टहरू आयोजना
इन्डस्ट्रियल इन्टर्नशिप तथा उद्योगसँगको समन्वय
अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य
सूचना प्रविधि नीति निर्माणमा साझेदारी
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यस सहकार्यलाई ऐतिहासिक अवसरको रूपमा मूल्यांकन गर्दै भनिन्, “एलटीयू सँगको सहकार्यले नेपालमा मौलिक सूचना प्रविधि प्रतिभा विकास र नवप्रवर्तनको बलियो आधार तयार पार्नेछ।”
यो सहकार्यले शैक्षिक संस्थाहरू र आईसीटी उद्योगबीचको दूरी घटाउने तथा विद्यार्थीहरूलाई डिजिटल अर्थतन्त्रका लागि आवश्यक ज्ञान, सीप र अनुभवसहित सक्षम बनाउने विश्वास गरिएको छ।
Comment