गैंडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था (साकोस) गैंडाकोटले मध्यविन्दु नगरपालिका–१० लाई दोस्रो पूर्ण सदस्य वडा घोषणा गरेको छ। १५५६ घरधुरीमध्ये १४९६ घरधुरी संस्थामा आबद्ध भएपछि यो वडा ‘पूर्ण सदस्य वडा’ बनेको हो।
६७औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा सुरु गरिएको अभियानअन्तर्गत यो दोस्रो वडा हो, जसलाई किसान साकोसले पूर्ण सदस्य वडा घोषणा गरेको हो। सोमबार आयोजित विशेष समारोहमा नगरप्रमुख भीमलाल अधिकारीले वडालाई औपचारिक रूपमा घोषणा गर्दै सहकारीले समाजमा सकारात्मक रूपान्तरणको नेतृत्व लिनुपर्ने बताए।
“ऋण भनेको फिर्ता गर्नुपर्ने दायित्व हो”, भन्दै प्रमुख अतिथि अधिकारीले हाल समाजमा फैलिएको सहकारी ऋण नतिर्ने प्रवृत्तिमाथि चेतावनी दिए। उनले उत्पादनमूलक कार्य, अर्गानिक खेती र स्थानीय रोजगारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
वडा अध्यक्ष रणबहादुर थापाले वडा–१० का ९६ प्रतिशतभन्दा बढी घरधुरी सहकारीमा आवद्ध भएको जानकारी दिँदै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा किसान साकोसका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता, संस्थाका सचिव सरस्वती कंडेलकाे सहजिकरण, अरुणखोला सेवा केन्द्रका संयोजक विन्दुकुमार श्रेष्ठको स्वागत मन्तव्य, तथा नेफ्स्कून, जिल्ला सहकारी संघ, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत सो अवसरमा महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सम्पन्न भयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा आयोजित शिविरमा २२० बढी महिलाको पाठेघर, स्तन, मुख तथा घाँटीको क्यान्सर परीक्षण गरिएको थियो।
त्यस्तै, सार्वजनिक स्थल र संस्थामा फोहर व्यवस्थापनका लागि ५० थान डस्टबिन वितरण गरिएको थियो।
संस्थाले आगामी दिनमा उद्यमशीलता, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ।
Comment