बैंक अफ काठमाण्डूको मुनाफा ८३ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डूको मुनाफा ८३ प्रतिशतले वृद्धि



काठमाडौं, २१ बैशाख । बैंक अफ काठमान्डू लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८३.३९% ले खुद नाफा वृद्धि गरेको रिपोर्ट प्रस्तुत गरेको छ । यो त्रैमासमा बैंकले ८८ करोड ६७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ४८ करोड ३५ लाख १३ हजार रुपैयाँ मात्र थियो । बैंक अफ काठमान्डूले खुद ब्याज आम्दानी पनि ७९.६१% ले वृद्धि गरेर १ अर्ब ९३ करोड ७३ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यहि त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ७ करोड ८६ लाख ५५ हजार रुपैयाँ थियो ।
बैंकले १० करोड ७० लाख ४८ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि २१ करोड ६८ लाख ८४ हजार रुपैयाँ छुट्याएको छ । निक्षेपमा ७० अर्ब ६७ करोड ५५ लाख ७४ हजार रुपैयाँ संकलन गरेको बैंकले ६२ अर्ब ७४ करोड ७ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको कर्जा निक्षेप अनुपात ७७.६७% छ । बैंकले गत बर्ष ३.७६% रहेको खराब कर्जालाई यो त्रैमासमा १.७६% मा सीमित गरेको छ । बैंक अफ काठमान्डूको कस्ट अफ फन्ड ४.६८% छ । गत वर्ष कस्ट अफ फन्ड ४.०४% थियो । बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) १४.३१% छ । यो प्रतिफल गत वर्षको तेस्रो त्रैमासमा १५.५९% थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमान्डूको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्ष भन्दा ११०.७३% ले बढेको हो । बैंकले  चैत ३ गते वार्षिक साधारण सभा गरेर २३% बोनस सेयर दिने प्रस्ताव परित गरिसकेको छ । बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी अझ बढ्नेछ । बैंकको रिजर्भ कोषमा पनि ३ अर्ब ३ करोड ६७ लाख ६२ हजार रुपैयाँ जम्मा भएको छ । बैंक अफ काठमान्डूको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९४ पैसा छ । बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मर्ज भएर यसअघि बैंक अफ काठमान्डू लुम्बिनी बनेको थियो । गएको साधारण सभाबाट फेरि बैंकको नाम परिवर्तन प्रस्ताव पारित गरी बैंक अफ काठमान्डू नै बनाइएको हो ।

 

प्रकाशित : २१ बैशाख २०७४, बिहीबार ०६:०६