नवौं वार्षिकोत्सवमा अर्थबजार डटकमद्वारा म्यागजिन विमोचन, अर्थतन्त्रमा गम्भीर बहस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नवौं वार्षिकोत्सवमा अर्थबजार डटकमद्वारा म्यागजिन विमोचन, अर्थतन्त्रमा गम्भीर बहस



काठमाडौं । अर्थबजार डटकमले आफ्नो नवौं बार्षिकोत्सवको अवसरमा ‘नेपालको अर्थतन्त्र र अबको बाटो’ विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै अर्थबजार डटकमले आफ्नो नवौं बार्षिकोत्सव मनाएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वअर्थमन्त्री महेश आचार्य उपस्थित थिए । यसैगरी विशेष अतिथीहरुमा नेपाल राष्ट्र बैकका सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटी, नेपाल बैंकर्स एसोसिएनका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव, कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान)का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी, नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहाल, इमानका अध्यक्ष रोयल आचार्य र युवा उद्यमी लिला वल्लव दाहालकाे उपस्थिति रहेकाे थियाे ।

पूर्वअर्थमन्त्री महेश आचार्यले अर्थतन्त्रको क्षेत्रमा नेपालले धेरै ठूलो सुधारको माग गरिरहेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन नसकेको र बैंकमा पनि पैसा थुप्रिएको भन्दै यसमा ठूलो सुधार अवलम्बन गर्न आवश्यक रहेको बताए ।

यस्तै, उनले नेपालमा अनुत्पादन खर्च कटौती गर्न कठोरताका साथ नियन्त्रण गर्न हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने भन्दै दबाब आएर जथाभावी खर्च गर्न नहुने बताए ।

नवौं वार्षिकोत्सवको अबसरमा अर्थबजार डटकमले म्यागजिन पनि सार्वजनिक गरेको थियो । यसैगरी नेपाल बैंकर्स एसोसिएनका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले हाल नेपालको अर्थतन्त्र निराशाजनक नभएको जिकिर गरे ।उनले नेपालका बैंकहरुले अहिले निकै कम ब्याजदरमा ऋण उपलब्ध गराइरहेको पनि बताए ।

यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणी शिवाकोटीले नेपालमा कानून र नीतिहरू भएपनि तिनको कार्यान्वयन पक्ष फितलो भएकोमा चिन्ता व्यक्त गरेका छन्। विशेषगरी, सम्पत्ति शुद्धिकरण निवारण ऐनअन्तर्गत कति व्यक्तिबाट पैसा जफत गरियो, कतिमाथि मुद्दा हालियो, कतिले मुद्दा हारे, कतिलाई हिरासतमा लिइयो र कति सम्पत्ति जफत गरेर राज्यको आम्दानी बढाइयो भन्नेलगायतका विषयमा उपयुक्त डाटाको अभाव रहेको पनि उनले बताए ।

त्यस्तै, लघुवित्त बैकर्श संघका अध्यक्ष रामबहादुर यादबले ग्रामीण क्षेत्रको अर्थतन्त्र वृद्धि गर्न कृषि विकास, व्यवसायीकरण, आधुनिकीकरण, रोजगारी सिर्जना, साना उद्यमशीलता विकास जस्ता कुराहरूमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। डिजिटल प्रविधिको उपयोग सहरमा मात्र सीमित नभई ग्रामीण क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्यालाई पनि यसमा अभ्यस्त गराउनुपर्ने उनले जोड दिए ।

नेपाली कांग्रेसका नेता एवं युवा उद्यमी लिला वल्लव दाहाल ‘काका’ले नेपालको अर्थतन्त्र हाल आशा र त्रास दुवै अवस्थाबाट गुज्रिरहेको बताएका छन् । उनका अनुसार, सरकारी नीति, नेपाल राष्ट्र बैंकको नीति, बैंकिङ क्षेत्रको कर्जा नीति वा बजेट जस्तोसुकै भएपनि न्यूनतम आवश्यकताहरूमा ध्यान नपुगेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरू खराब कर्जाका कारण नयाँ कर्जा दिनसक्ने अवस्थामा छैनन्। सुधारका लागि वित्तीय सुविधाभन्दा पनि नीतिगत सुविधा दिन सरकार सक्षम रहेको र त्यसतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिए।

प्रकाशित : 29 May, 2025 6:27 am