परम्परागत बजेटले समृद्धि आउँदैन्, बजेटमा सत्ता र प्रतिपक्षको इफोर्ट: पूर्वअर्थमन्त्री आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

परम्परागत बजेटले समृद्धि आउँदैन्, बजेटमा सत्ता र प्रतिपक्षको इफोर्ट: पूर्वअर्थमन्त्री आचार्य



काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्याले नेपालको आर्थिक रुपान्तरणका लागि वर्तमानमा भइरहेका खण्डित सुधारका प्रयासहरू पर्याप्त नभएको बताएका छन् ।

अर्थबजार डटकमको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आचार्यले देशलाई आर्थिक रुपान्तरणको एजेण्डामा अगाडि बढाउन प्रधानमन्त्रीको तहदेखि सत्तारुढ पार्टी, विपक्षी दलका नेता, सिंगो संसद र न्यायिक क्षेत्रसमेतले यसलाई अर्जेन्सीका रूपमा हेर्नुपर्ने खाँचो औंल्याए।

८ देखि १२ प्रतिशत सम्मको दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका लागि देशको आर्थिक एजेण्डालाई सरकार, निजी क्षेत्र र विपक्षी दल सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए।

‘विभिन्न क्षेत्रमा भइरहेका अवरोधबारे खुला मनले संवाद गर्नसक्ने र निजी क्षेत्रका मानिसहरूसँग परामर्श गरी कहाँ सुधार गर्न सकिन्छ भनेर अग्रसरता लिने नेतृत्वको खाँचो अहिले देशले देखेको छ । प्रधानमन्त्रीले दैनिक १८ घण्टा निजी क्षेत्र र विभिन्न विषयका विज्ञहरूसँग परामर्श गर्ने हो भने छोटो समयमै रुपान्तरण सम्भव छ,’ उनले भने ।

उनले परम्परागत बजेटको सट्टा बृहत् सुधारलाई डिजाइन गर्न सक्ने बजेट आवश्यक रहेको बताए। समग्र मागमा देखिएको शिथिलतालाई सम्बोधन गर्न अर्थमन्त्रीले ल्याउने बजेटलाई राष्ट्र बैंकको मौद्रिक नीतिले तत्काल साथ दिनुपर्ने अवस्था रहेको औंल्याए ।

सहकारीमा डुबेको बचतकर्ताको पैसालाई पाँच एवम सात लाख दिएर समस्या समाधान भयो भनेर सोच्ने चरणमा अब देश नरहेको र समग्र बजेटको संरचनालाई परिवर्तन गर्ने गरी सोच्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रकाशित : 28 May, 2025 3:54 pm