सहकारीलाई धरासायी बनाउने मापदण्ड सच्याउनुपर्ने : अध्यक्ष लाखाजु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीलाई धरासायी बनाउने मापदण्ड सच्याउनुपर्ने : अध्यक्ष लाखाजु



भक्तपुर। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजनामा “सहकारीमा पूँजी कोष पर्याप्तता (CAR) र पल्र्स अनुगमन प्रणाली” विषयक दुई दिने तालिम सम्पन्न भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक साझेदारीमा आयोजित तालिम जेठ १० र ११ गते राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा सम्पन्न भयो।

तालिमको उद्घाटन सत्रमा बोल्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थाहरूले सहकारी ऐनअनुसार सदस्यको बचत संकलन तथा ऋण लगानी गरिरहेको बताउँदै, हालका मापदण्डहरूले सहकारी क्षेत्रलाई धरासायी बनाउने खतरा रहेको टिप्पणी गरे। उनले जारी मापदण्डमा तरलता सम्बन्धी व्यवस्थालगायत विषय तत्काल परिमार्जन गर्न माग गर्दै, आवश्यक परे कानुनी उपचारको बाटो लिनुपर्ने चेतावनी दिए।

संघका कोषाध्यक्ष तथा उपसमितिका संयोजक कान्छा भक्त घजुले सिपिसी र पल्र्स प्रणालीले सहकारीको जोखिम निर्धारण र बचतको सुरक्षित व्यवस्थापनमा मद्दत गर्ने जानकारी दिए। उनले तालिममा सिकिएको ज्ञान कार्यस्थलमा प्रयोग गरी दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले बचत तथा ऋण कारोबारको आधारमा सहकारीलाई बैंक भन्न नमिल्ने उल्लेख गर्दै, यस्ता संस्थाको वर्गीकरण गरी मात्र राष्ट्र बैंकबाट इजाजत दिनुपर्ने धारणा व्यक्त गरे। व्यवहारिक र प्रगतिशील कानुन आवश्यक रहेको पनि उनको भनाइ थियो।

उपसमितिका सदस्य राजकुमार लघुले तालिम प्राविधिक भएकाले यसको निरन्तर प्रयोग र सिकाइ अपरिहार्य रहेको बताए।
तालिममा नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना र प्रशिक्षक उमेश कोईरालाले क्रमशः पूँजी कोष पर्याप्तता र पल्र्स अनुगमन प्रणालीसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।

तालिममा संघमा आबद्ध विभिन्न सहकारी संस्थाहरूका पदाधिकारी, व्यवस्थापक र लेखा विभागका कर्मचारी गरी ३८ जनाको सहभागिता थियो। समापन सत्रको सञ्चालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो। सहभागीहरूले तालिमबाट व्यावहारिक ज्ञान प्राप्त भएको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए।

प्रकाशित : 27 May, 2025 1:07 pm