रूपेश जैसवाल र शान्ति धिमाललाई कोप चेस प्रतियोगिताको उपाधि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रूपेश जैसवाल र शान्ति धिमाललाई कोप चेस प्रतियोगिताको उपाधि



काठमाडौं – नेपालका फिडे मास्टर (एफएम) रूपेश जैसवालले “प्रभु महालक्ष्मी दोस्रो कोप ओपन ¥यापिड रेटिङ चेस प्रतियोगिता २०८१” को उपाधि जित्न सफल भएका छन्। राजधानी काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितामा रूपेशले नौ चरणको खेलमा ८ अंकसहित ५२ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे।

रूपेशले उपाधिसँगै १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा, ४० हजार रुपैयाँ नगद, ट्रफी र गोल्ड मेडल प्राप्त गरे। उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल र प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा एफएम क्षितिज भण्डारीले पनि ८ अंक प्राप्त गरे तर ५१ प्रोग्रेसिभ प्वाइन्टसहित दोस्रो स्थानमा रहन पुगे। उनले ७ लाख बराबरको बीमा, नगद २५ हजार, शिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरे। सिएम पुरुषोत्तम सिलवालले ७ अंक र ५४.५ प्रोग्रेसिभ प्वाइन्टसहित तेस्रो स्थान प्राप्त गर्दै ५ लाख बराबरको बीमा, नगद १५ हजार र ब्रञ्ज मेडल जिते।

प्रतियोगिताको महिला वर्गमा शान्ति धिमाल ५.५ अंकसहित प्रथम बनिन् र उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरिन्। बिनिता कपालीले ५ अंकसहित दोस्रो हुँदै ६ हजार र सिन्दिरा जोशीले तेस्रो हुँदै ५ हजार रुपैयाँ जितिन्।

अन्य विधामा पनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको छ। नवप्रवेशी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङ मुनि सुरज सिंह, १६ सय मुनि उज्वल दहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ वर्ष हार्दिक पन्त, उत्कृष्ट बीमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार प्राप्त गरे।

राष्ट्रिय सहकारी महासंघको आयोजना तथा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको प्रस्तुतीमा सम्पन्न उक्त प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। दुई दिनसम्म चलेको प्रतियोगितामा भारतसहित दर्जनौं खेलाडीहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भेट्रान चेस खेलाडी सिताराम अग्रवाल, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, भिजुअल इडिटर मुक्ति श्रेष्ठ र फोटोग्राफर देवु राजवंशीलाई सम्मान गरिएको थियो।

प्रकाशित : 9 May, 2025 9:32 pm