दाेलखा । चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा संस्थाले उत्कृष्ट उद्यमी सदस्यहरू कल्पना बुढाथोकी, भगवती बस्नेत र भीम बहादुर विकलाई जनही तीन हजार रुपैयाँसहित सम्मान गरेको छ।
त्यसैगरी, सहकारीले समाजप्रति योगदान पु¥याउँदै आएका ९३ वर्षीय बल बहादुर अधिकारी र ९२ वर्षीया पदम कुमारी खडकालाई जेष्ठ नागरिक सम्मान प्रदान गर्यो। पत्रकारिता क्षेत्रमा योगदान दिएका सञ्चारकर्मीहरूलाई “जनकल्याण फेलोशिप” अन्तर्गत प्रशंसा पत्र वितरण गरिएको थियो।

स्थापना दिवसमा आयोजित कार्यक्रममा सदस्यहरूद्वारा उत्पादन गरिएका वस्तुको ब्रान्डिङ तथा प्याकेजिङबारे अन्तरक्रिया गरिएको थियो। संस्थाले उत्पादनको बजारीकरणका लागि स्थानीय सरकार तथा व्यवसायिक निकायसँग सहकार्य गर्दै उद्यमशील सदस्यलाई प्रोत्साहन गर्ने योजना अघि बढाएको जानकारी गराइएको छ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य भरत बहादुर केसीले सहकारीहरू ग्रामीण जनजीविकाको मेरुदण्ड भएको उल्लेख गर्दै बचतसँगै उद्यमका लागि ऋणको प्रभावकारी प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले संस्थाले स्थानीय तहसँग सहकार्य गर्दै रचनात्मक गतिविधि सञ्चालन गरेकोप्रति सराहना व्यक्त गर्नुभयो।
बागमती प्रोस्कुनका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले सहकारीको उत्पादनमूलक योजना प्रशंसनीय रहेको उल्लेख गर्दै छाता संघहरूको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो।
भीमेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख नारायण सेढाइ, जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष राजन श्रेष्ठले गतिविधिहरु नियमअनुसार सञ्चालन गर्दै सदस्यसँगको सम्बन्ध सुदृढ बनाउँदै आएको बताए। प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले संस्थाको आगामी योजना र उद्यमशीलता प्रवर्द्धनसम्बन्धी प्रस्तुती दिएका थिए भने उपाध्यक्ष सहदेव खडकाले स्वागत मन्तव्य राखेका थिए।
२०५४ साल बैशाख १७ गते स्थापना भएको संस्थामा हालसम्म ७ वटा सहकारी एकीकृत भइसकेका छन्। संस्थामा ९ हजार ५ सय शेयर सदस्य छन् भने ८८ करोड ३७ लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ। संस्थाको कार्यक्षेत्र दोलखा जिल्ला भरि फैलिएकाे छ।
Comment