राष्ट्र बैंक सहकारीको नियामक निकाय हैन,प्राधिकरण बलियो बनाउनु लाग्नुस्ः कार्यकारी निर्देशक पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंक सहकारीको नियामक निकाय हैन,प्राधिकरण बलियो बनाउनु लाग्नुस्ः कार्यकारी निर्देशक पौडेल



काठमाडाै । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले सहकारीको नियामक नभएको प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ का केही बुँदाहरूले सहकारी अभियानमा प्रतिकूल प्रभाव पार्ने देखिएको भन्दै, राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा पुगेको एक टोलीसंगको भेटमा आफ्नो धारणा राख्दै पौडेलले नियमन, कारबाहीको काम सहकारीको नियामक निकायको रुपमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गर्ने भएकाले द्वविधामा नपर्न उनले आग्रह गरे ।

राष्ट्र बैंकले बनाएको मापदण्डले मात्र सहकारी चल्न नसक्ने बताउदै पौडेल एेनमा भएको व्यवस्था अनुसार प्राधिकरणले काम गर्नुपर्ने बताए । मापदण्ड र निर्देशन जारी गर्ने र सहयोगका लागि केही अनुरोध भएमा सहयोगीको भूमिका निर्वाह गर्ने उद्देश्य रहेको बताएका छन् ।

पाैडेलले भने – “अहिले राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा मापदण्ड कार्यन्वयन कसरी गर्ने र नगर्ने भन्ने कुरा प्राधिकरणको हो । त्यसैले प्राधिकरण बलियो बनाएर काम कसरी गर्ने भन्नेमा केन्द्रित हुन सहकारीकर्मीहरु लाग्नु होस ।”

राष्ट्रिय सहकारी महासंघकी अध्यक्षा ओमदेवी मल्लले राष्ट्र बैंकको निर्देशनका कारण सहकारी संघ/संस्थाको व्यवस्थापन, सदस्यको सेवा प्रवाह, तथा वित्तीय परिचालनमा असर परेको जानकारी गराईन ।

सहभागीले राष्ट्र बैंकको निर्देशनले सहकारी संस्थामा वित्तीय असन्तुलन, सदस्यको विश्वासमा गिरावट र सेवा प्रवाहमा अवरोध ल्याउन सक्ने चिन्ता व्यक्त गरे ।

छलफलमा महासंघका उपाध्यक्ष डिवी बस्नेत, इन्दिरा पन्त, टेकप्रसाद चौलागाईं, साथै नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंक, प्रोस्कून, तथा विभिन्न जिल्लास्तरीय सहकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार १७:२७