टुरिजम डेभलपमेन्टले ९ दिन म्याद थप गर्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टुरिजम डेभलपमेन्टले ९ दिन म्याद थप गर्याे



काठमाडौं बैशाख १५ । टुरिजम डेभलपमेन्ट बैंकले १०० प्रतिसत हकप्रद सेयर भर्ने म्याद ९ दिन थप गरेको छ । यो हकप्रदमा अब वैशाख २६ गतेसम्म आवेदन दिन पाइनेछ । तोकिएको समयभित्र सबै सेयर बिक्री नभएपछि बैंकले फेरि ९ दिन समय थप गरेको हो । यसअघि टुरिजमले चैत १३ देखि वैशाख १७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकले १ः१ अनुपातमा ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँ हकप्रद बिक्री गरेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर बिक्री खुलाइएको छ । माघ ६ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद सेयर भर्न पाउनेछन् । हकप्रद बिक्रीपछि टुरिजमको चुक्ता पुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार ४०० रुपैयाँ पुग्नेछ । टुरिजमले यसअघि मातृभूमि र कालिञ्चोक विकास बैंकलाई गाभेर पुस २४ गते देखि एकीकृत कारोबार गरेको थियो ।

बैंकको यो हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । टुरिजम हाल मेघा बैंकसँग गाभिने प्रक्रियामा छ । आवेदन फारम एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं र टुरिजम डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ बानेश्वरसहित बैंकको अधिकांश शाखा कार्यालयबाट लिन र बुझाउन पाइनेछ । हाल टुरिजमको चुक्ता पुँजी ९१ करोड ९७ लाख ७१ हजार २०० रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा टुरिजमले १४ करोड ६३ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ८३ पैसा (बार्षिकीकरण) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५४ पैसा छ ।

प्रकाशित : १५ बैशाख २०७४, शुक्रबार ०७:२१