लक्ष्मी सन्राईज बैंक लिमिटेडको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरू र रेमिट हाइड्रो लिमिटेडबीच ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ।
सो आयोजनाले सन् २०३० भित्र निर्माण सम्पन्न गरी वार्षिक करिब ४६२.२८ गिगावाट-आवर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। परियोजनाले नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत नविकरणीय ऊर्जा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।
परियोजनाको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले कुल परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी ३० प्रतिशत रकम संस्थापक तथा साधारण प्रवद्र्धकहरूले लगानी गर्नेछन्। लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स प्रतिवद्धता ५ अर्ब रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड, र एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ रहेको छ।
लक्ष्मी सनराइज बैंकले हाल २५४ वटा शाखा कार्यालय, ३२७ वटा एटीएम मेशिन, २७ वटा विस्तारित काउन्टर, १२८ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ५००० विप्रेषण एजेन्टमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकको कुल वासलात ३९५ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप ३३३ अर्ब र कर्जा लगानी २५८ अर्ब रुपैयाँ रहेको छ। वित्तीय सूचकहरू सकारात्मक देखिएको बैंकको दाबी छ।
Comment